काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी क्षेत्रलाई समयानुकूल ऐन, नियममार्फत सशक्त बनाउन सरकारले नयाँ अध्यादेश ल्याएको बताएका छन्।
शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित ‘नेपाली कांग्रेस र सहकारी’ विषयक एकदिने विचार गोष्ठीमा देउवाले सहकारी प्रणालीले गरिबी निवारण र सशक्तिकरणमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।
उनले भने, “सहकारी प्रणालीले गरिबी निवारण, सशक्तिकरण र लोकतान्त्रिक समाजवादको स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्छ। यसैले समयानुकूल सहकारीमैत्री ऐनको आवश्यकता महसुस गरी सरकार नयाँ अध्यादेश ल्याएको हो। सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा सकारात्मक परिवर्तन हुनेमा मेरो पूर्ण विश्वास छ।”
देउवाले नेपालको संविधानले सरकारी, निजी, र सहकारी क्षेत्रलाई अर्थतन्त्रका तीन आधारका रूपमा मान्यता दिएको भन्दै सहकारी क्षेत्रको महत्व अझ स्पष्ट भएको उल्लेख गरे।
सभापति देउवाले नेपाली कांग्रेसले सहकारी आन्दोलनलाई नागरिकस्तरसम्म पुर्याउन अभियानका रूपमा विस्तार गर्न लागेको जानकारी दिए। गरिब किसान, श्रमिक र समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारीको भूमिका महत्वपूर्ण भएको उनको भनाइ थियो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले सहकारी क्षेत्रको विश्वसनीयता कायम राख्न सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए।