काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भित्र नेतृत्व, नीति र संगठनात्मक संरचनामा व्यापक रूपान्तरणको माग बढ्दै गएको एक मतसर्वेक्षणले देखाएको छ।
‘नेकपा एमाले रूपान्तरण र पुनर्संरचनाको लागि पुनर्जागरण अभियान–२०८२’ अन्तर्गत सार्वजनिक गरिएको सर्वेक्षणअनुसार अधिकांश सहभागीले वर्तमान नेतृत्वको कार्यशैली, नीति र संगठनात्मक संरचनामा परिवर्तन आवश्यक रहेको बताएका छन्।
सर्वेक्षणमा ९४.९ प्रतिशत सहभागीले नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। ८७.६ प्रतिशत ले वर्तमान नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् भने ८७.५ प्रतिशत ले पार्टीको नीति परिमार्जन आवश्यक रहेको उल्लेख गरेका छन्।
यस्तै, ९१.४ प्रतिशत सहभागीले पार्टीको संगठनात्मक संरचनाको पुनर्संरचना गर्नुपर्नेमा जोड दिएका छन्। नेतृत्व चयन प्रक्रियामा परिवर्तनको पक्षमा पनि उल्लेख्य समर्थन देखिएको छ। ८२.९ प्रतिशत सहभागीले सबै संगठित सदस्यलाई मतदानको अधिकार दिई नेतृत्व चयन गर्नुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन्।
पार्टीलाई थप गतिशील बनाउन सक्षम र युवा नेतृत्वलाई सबै तहका कमिटीमा अवसर दिनुपर्ने पक्षमा ९१.१ प्रतिशत सहभागीले समर्थन जनाएका छन्।
नेतृत्व हस्तान्तरणको विषयमा ५०.२ प्रतिशत सहभागीले केन्द्रीय कमिटीभित्रबाटै नयाँ नेतृत्व चयन हुनुपर्ने धारणा राखेका छन्। १६.७ प्रतिशत ले पदाधिकारीमध्येबाट नेतृत्व आउनुपर्ने बताएका छन् भने केही सहभागीले कमिटी बाहिरबाट पनि नेतृत्व चयन गर्न सकिने विकल्प प्रस्तुत गरेका छन्।
पार्टीको समग्र अवस्थाबारे गरिएको प्रश्नमा ९१.४ प्रतिशत सहभागीले एमालेको रूपान्तरण अपरिहार्य रहेको बताएका छन्। वर्तमान अवस्थामै पार्टी प्रभावकारी रूपमा अघि बढ्न सक्ने विश्वास भने ७.४ प्रतिशत सहभागीले मात्र व्यक्त गरेका छन्।
सर्वेक्षणमा सहभागीमध्ये ७२.२ प्रतिशत नेकपा (एमाले) का संगठित सदस्य रहेका छन् भने बाँकी समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिक रहेका छन्। सर्वेक्षणले पार्टीभित्र नेतृत्व, नीति र संगठनात्मक सुधारको माग व्यापक रूपमा उठिरहेको संकेत गरेको छ।


