काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारीका ट्रेड युनियन तथा कर्मचारी संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएका छन्।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार नेपाल सरकारले निजामती कर्मचारीको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेसँगै साविकका राष्ट्रियस्तरका ट्रेड युनियनहरूले सरकारी स्वामित्वको जग्गामा निर्माण गरी प्रयोग गर्दै आएका भवन तथा संरचनाको कानुनी आधार समाप्त भएको छ।
मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णय र श्रम तथा व्यावसायजन्य सुरक्षा विभागबाट सम्बन्धित ट्रेड युनियनहरूको दर्ता खारेज भइसकेकाले ती संरचना अब सरकारी जिम्मामा फिर्ता गर्नुपर्ने अवस्था आएको हो।
सूचनामा सम्बन्धित संगठनहरूलाई सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी कागजात, सम्पत्तिको जिम्मेवारी र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउन निर्देशन दिइएको छ।
मन्त्रालयले तोकिएको अवधिभित्र संरचना खाली नगरिए प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ। साथै, जिल्ला प्रशासन कार्यालयको रोहवरमा सम्बन्धित भवनहरूमा समेत सूचना टाँस गरिएको जनाएको छ।
संरचना खाली गर्न निर्देशन दिइएका संगठनमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल लगायत रहेका छन्।


