Wednesday, June 10, 2026
Homeराजनीतिसम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप, ३ हजार ५०० विवरणको छानबिन...

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप, ३ हजार ५०० विवरणको छानबिन सुरु हुँदै

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई सम्पत्ति विवरण बुझाउन दिएको समयसीमा आगामी असार मसान्तसम्म थप गरेको छ।

आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार विवरण बुझाउनुपर्ने कतिपय पदाधिकारी विदेशमा रहेका तथा आवश्यक कागजात संकलन गर्न समय अभाव भएको गुनासो आएपछि व्यावहारिक सहजताका लागि म्याद थप गर्ने निर्णय गरिएको हो।

आयोगले गत जेठ १ गते सूचना जारी गर्दै पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई जेठ मसान्तभित्र आफ्नो तथा परिवारको नाममा रहेको चल-अचल सम्पत्तिको विवरण पेस गर्न निर्देशन दिएको थियो।

तर, तोकिएको समयसीमाभित्र अपेक्षाअनुसार विवरण प्राप्त नभएपछि आयोगले म्याद थप गरेको जनाएको छ। आयोगका अनुसार हालसम्म करिब ३ हजार ५०० जनाले मात्र आफ्नो सम्पत्ति विवरण बुझाएका छन्।

आयोगका प्रवक्ता गणेश केसीले अन्तिम दिनहरूमा विवरण बुझाउन आउनेहरूको संख्या उल्लेख्य रूपमा बढेको र कार्यालयमा अत्यधिक चाप सिर्जना भएकाले समय थप्नुपरेको बताए।

उनका अनुसार यो म्याद अन्तिम पटकका लागि थपिएको हो। थपिएको अवधिभित्र पनि विवरण नबुझाउने पदाधिकारीहरूलाई प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।

यता, आयोगले प्राप्त भइसकेका सम्पत्ति विवरणहरूको अध्ययन तथा प्रमाणीकरण प्रक्रिया पनि सुरु गर्ने तयारी गरेको छ। हालसम्म बुझाइएका ३ हजार ५०० भन्दा बढी विवरणमाथि प्रारम्भिक जाँचबुझ र विश्लेषणको काम आजैदेखि अघि बढाइने आयोगले जनाएको छ।

सार्वजनिक पदाधिकारीहरूको आर्थिक पारदर्शिता बढाउने तथा भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यसहित सुरु गरिएको यो अभियानलाई सरोकारवाला निकायहरूले महत्वका साथ हेरिरहेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका