काठमाडौँ, १ असार:सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा जारी अवरोधबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग आज बिहान छुट्टाछुट्टै छलफल गरेका छन्।
सभामुख घिमिरेले बानेश्वरस्थित आफ्नो कार्यकक्षमा रास्वपा कार्यवाहक सभापति अर्यालसँगको भेटवार्तामा संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरु गर्नैपर्ने बाध्यता रहेको उल्लेख गर्दै अवरोधको स्वरूप बदल्न आग्रह गरेका थिए। साथै, उनले संसद्लाई मर्यादित ढंगले सञ्चालन गर्न पनि ध्यानाकर्षण गराएका थिए।
प्रतिक्रिया स्वरूप सभापति अर्यालले आफूहरूको अवरोध जारी रहने जनाउँदै संसद्को मर्यादा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीत गतिविधि भएकोबारे प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए।
सभामुख घिमिरेले राप्रपाका अध्यक्ष लिङ्देनसँग टेलिफोनमार्फत कुराकानी गर्दै संवैधानिक बाध्यता बुझिदिन आग्रह गरेका थिए। उनले संसद्मा आफ्ना विचार राख्दै अवरोध हटाउन र सदन सुचारु गर्न सहयोग गर्न अनुरोध गरेका थिए।


