Thursday, July 2, 2026
Homeखेलकुदसन्दीप लामिछानेको ऐतिहासिक विश्व कीर्तिमान: ७३ खेलमै १५० विकेट, स्टार्कको कीर्तिमान चकनाचुर

सन्दीप लामिछानेको ऐतिहासिक विश्व कीर्तिमान: ७३ खेलमै १५० विकेट, स्टार्कको कीर्तिमान चकनाचुर

काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा दुई विकेट लिएसँगै सन्दीपले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने विश्व कीर्तिमान बनाएका हुन्।

सन्दीपले केवल ७३ खेलमै १५० विकेट पूरा गर्दै अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन्। स्टार्कले ७७ खेलमा यो उपलब्धि हासिल गरेका थिए।

यसअघि स्पिनतर्फ अफगानिस्तानका राशिद खानले ८० खेलमा १५० विकेट पूरा गरेका थिए। तर सन्दीपले तीव्र गतिका बलर र स्पिनर दुवैका कीर्तिमान उछिन्दै विश्व क्रिकेटमा ऐतिहासिक सफलता हात पारेका छन्।

स्कटल्याण्डविरुद्धको खेलअघि सन्दीपको नाममा १४८ विकेट रहेको थियो। खेलमा उनले कसिलो बलिङ गर्दै महत्वपूर्ण दुई विकेट लिएर नयाँ इतिहास रचेका हुन्।

सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी

१. सन्दीप लामिछाने (नेपाल) – ७३ खेल
२. मिचेल स्टार्क (अस्ट्रेलिया) – ७७ खेल
३. साक्लैन मुश्ताक (पाकिस्तान) – ७८ खेल
४. राशिद खान (अफगानिस्तान) – ८० खेल
५. मोहम्मद शामी (भारत) – ८० खेल

यसअघि पनि सन्दीपले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा बनाएका थिए।

घरेलु मैदानमा समर्थकहरूको उत्साहपूर्ण समर्थनबीच बनेको यो ऐतिहासिक उपलब्धिले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका