काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा अमर्यादित व्यवहार प्रदर्शन तथा भौतिक क्षति पुर्याउने सांसदहरूमाथि छानबिन गर्न समिति गठन गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले संसद् सचिवालयका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन्।
सभामुख अर्यालका अनुसार समितिलाई घटनाको सत्यतथ्य जाँचबुझ गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। प्राप्त प्रतिवेदनका आधारमा ‘प्रतिनिधि सभा नियमावली, २०८३’ अनुसार दोषी सांसदहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले बताएका छन्।
सभामुख अर्यालले संसद्मा जानकारी दिँदै जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा केही सांसदहरूले अव्यवस्था सिर्जना गर्दै अमर्यादित तथा आपत्तिजनक व्यवहार प्रदर्शन गरेको, साथै भौतिक क्षति पुर्याएको विषय नियमअनुसार जानकारीमा आएको बताए।
छानबिन समितिमा संसद् सचिवालयका सचिव प्रकाश अधिकारी संयोजक रहेका छन् भने संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन्।
यसअघि सभामुखले घटनाबारे संसद् सचिवालयका कर्मचारीहरूसँग कानुनी तथा प्राविधिक परामर्श गरेका थिए भने संसद् भवनमा भएको क्षतिको विवरणसमेत संकलन गरिएको जनाइएको छ।
आइतबार प्रतिनिधिसभामा ‘प्रतिनिधि सभा नियमावली, २०८३’ पारित गर्ने प्रक्रिया चलिरहेका बेला विपक्षी दलहरूले नियमावलीमाथि परेका संशोधन थप छलफलका लागि संसदीय समितिमा पठाउन माग गरेका थिए।
तर सभामुखले दफावार छलफल सम्पन्न भइसकेको भन्दै संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरेपछि विपक्षी सांसदहरूले विरोध जनाएका थिए। त्यसक्रममा सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए भने केही सांसदबीच घम्साघम्सी हुनुका साथै संसद्भित्र भौतिक क्षति समेत पुगेको थियो।


