काठमाडौं:जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बदलिँदो सामाजिक, आर्थिक र राजनीतिक परिवेशका बीच संविधान संशोधन अपरिहार्य भएको बताएका छन्।
उनका अनुसार लोकतन्त्रको संरक्षण, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रणालीमा सुधार, समावेशीता र पहिचानका विषयलाई सम्बोधन गर्न संविधान संशोधन आवश्यक छ। “संविधानले समयअनुसार जनताको आकांक्षा समेट्न नसक्ने हो भने लोकतन्त्र नै खतरामा पर्न सक्छ,” बस्नेतले भने, “संविधान संशोधनको मूल उद्देश्य लोकतन्त्रको रक्षा गर्नु हो।”
उनले मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै आर्थिक अनियमितता र अपारदर्शितालाई रोक्न शक्तिशाली जनलोकपाल आयोग गठन गर्नुपर्ने मागसमेत राखे।
बस्नेतले हालको निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गर्ने अवस्था सिर्जना गरेको दाबी गर्दै प्रणालीमा आमूल सुधार आवश्यक भएको बताए।
त्यस्तै, उनले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजलाई प्रतिनिधित्व गर्ने गरी समावेशीकरण र पहिचानको मुद्दा व्यवहारिक रुपमा सम्बोधन गर्नुपर्ने र संघीयतालाई प्रभावकारी बनाउन संविधान पुनर्लेखन जरुरी भएको बताए।
“संविधान संशोधन अहिलेको समयको अनिवार्य माग हो,” उनले भने, “यसले देशको लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउनेछ।”


