Saturday, June 6, 2026
Homeखेलकुदविमल घर्तीमगरको भावुक स्टाटस : सूर्य अस्ताउने भनेकै भोलि उदाउन हो

विमल घर्तीमगरको भावुक स्टाटस : सूर्य अस्ताउने भनेकै भोलि उदाउन हो

१९ माघ, काठमाडौं । २६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका स्ट्राइकर विमल घर्ती मगर गत शनिबार मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा गरेको गोलका कारण पुन: चर्चामा आएका छन् ।

शनिबार भएको मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा विमल नेपालको प्लेइङ ११ मा परे, जुन सन् २०१९ नोभेम्बरपछि उनको राष्ट्रिय टिमबाट पहिलो खेल थियो ।

मंगलबार भएको मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा भने विमल दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । विमलकै एक मात्र गोलमा नेपालले मरिससलाई पहिलो खेलमा १-० ले पराजित गरेको थियो ।

विमलले पछिल्लो पटक सन् २०१८ मा ढाकामा भएको साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध गोल गरेका थिए । उनले ४० महिनापछि नेपालका लागि गोल गरेका हुन् । राष्ट्रिय टिममा विमलको गोल संख्या ९ पुगेको छ ।

मरिसस विरुद्ध दुई खेल खेल्दै पुनरागमन गोल समेत गरेपछि विमलले बुधबार सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन् ।

२३ वर्षीय विमलले नेपालको झण्डा अंकित जर्सी लगाएर राष्ट्रिय गान गाउन पाउँदाको क्षण अरु कुनै कुरासंग तुलना गर्न नसकिने बताएका छन् । ‘उतार चढावपश्चात शारीरिक र मानसिक रुपमा सबल भई मैदानमा नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्ष लाई म अरु कुनै कुरासँग तुलना गर्न सक्दिन ।’

साथै उनले आउने दिनमा पनि नेपालीहरुसंग खुशी बाँड्न आफू तयार रहेको बताए । ‘टिमको साथ, दर्शकको माया र प्रशिक्षक को विश्वासलाई सदैव आत्मसाथ गर्दै आउने दिनहरुमा पनि नेपालीहरुमा खुसी बाँड्न सदैव तत्पर हुनेछु ।’

सन् २०१२ मा बंगलादेशविरुद्ध दशरथ रंगशालामा डेब्यु गरेका विमलले सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध पहिलो गोल गरेका थिए ।

उनले पछिल्लो पटक २०१९ मा म्यानमारसंग भएको मैत्रीपूर्ण खेल खेलेका थिए ।

त्यसपछि अनुशासन र चोटका कारण मैदान बाहिर रहेका विमलले चोटबाट निको भएर शहीद स्मारक ए डिभिजन लिग मार्फत फुटबलमा पुनरागमन गरेका थिए । विमलले साविक विजेता मछिन्द्र एफसीबाट फुटबल खेलिरहेका छन् ।

विमलले के लेखेका छन् ?

सायद सूर्य अस्ताउने भनेकै भोलि उदाउनको लागि हो !

निकै लामो समय प्रत्यक्ष रूपमा मैदानभित्र नरहँदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो सतप्रतिशत साथ रहिरह्यो ।

उतार चढावपश्चात शारीरिक र मानसिक रुपमा सबल भई मैदानमा नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षणलाई म अरु कुनै कुरासंग तुलना गर्न सक्दिन !

टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सदैव आत्मसाथ गर्दै आउने दिनहरुमा पनि नेपालीहरुमा खुसी बाँड्न सदैव तत्पर हुनेछु ।

मेरा लागि सबै र सबैको लागि म

जय नेपाली फुटबल ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका