काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता पार्वत गुरुङले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही पहिले नै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर मन्त्रिपरिषदले निर्णय नगरेपछि मन्त्रालयले काठमाडौं उपत्यका सहित १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राख्दै बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको थियो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले विद्यालयका साथै सिनेमा हल, पार्टी प्यालेस, रंगशाला लगायतका भीडभाड हुने क्षेत्र पनि बन्द गर्ने निर्णय गरेको छ ।
काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो । कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए ।
‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभई दिनु’ स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले भनेको छ ।
सबै अस्पतालमा फिवर क्लिनिक सञ्चालन गर्नू
एचईओसीले सबै अस्पतालहरुलाई फिवर क्लिनिक अनिर्वाय सञ्चालन गर्न आग्रह गरेको छ । साथै सरकारी अस्पताललाई कम्तिमा ५० प्रतिशत वेड कोभिड-१९ का लागि छुट्याउने र निःशुल्क उपचार सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।