काठमाडौं। विदेश पठाइदिने लोभ देखाएर बेरोजगार युवायुवतीसँग ठगी गर्ने दुई फरार व्यक्तिलाई प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार, पक्राउ पर्नेमा नुवाकोट म्यागङ गाउँपालिका–१ स्थायी ठेगाना भई हाल टोखा नगरपालिका–३ मा बसोबास गर्दै आएका ५४ वर्षीय न्याउरे तामाङ रहेका छन्। उनले युएई पठाइदिने भन्दै दुई जनाबाट कुल १७ लाख ९६ हजार ५ सय रुपैयाँ ठगी गरेका थिए। तामाङमाथि वैदेशिक रोजगार विभाग, ताहाचलमा २ लाख ६९ हजार रुपैयाँ, र जिल्ला प्रहरी परिसर, भद्रकालीमा १५ लाख २७ हजार ५ सय रुपैयाँ बिगो रहेको ठगीसम्बन्धी मुद्दा दर्ता छ।
त्यस्तै, ताप्लेजुङको सिद्धिङ्वा गाउँपालिका–६ स्थायी ठेगाना भएका ३५ वर्षीय जीवन कडरीया पनि पक्राउ परेका छन्। उनले दक्षिण कोरिया पठाइदिने भन्दै तीन जनाबाट ७ लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए। कडरीयामाथि वैदेशिक रोजगार विभाग, ताहाचलमा ३ लाख २० हजार रुपैयाँ, जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकमा १ लाख ५५ हजार रुपैयाँ, र प्रहरी वृत्त, लैनचौरमा २ लाख ५० हजार रुपैयाँ बिगो रहेको बैंकिङ कसूरसम्बन्धी तीनवटा मुद्दा दर्ता छन्।
प्रहरीले दुवैजनालाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।



