काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले सरकारले गैरआवासीय नेपाली (एनआरएन) का लागि लगानीमैत्री वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ मा अध्यक्ष केसीले नेपालको आर्थिक समृद्धिमा एनआरएनको योगदान उल्लेखनीय हुन सक्ने भए पनि हालसम्म लगानीका लागि सहज वातावरण नबनिएको गुनासो गर्नुभयो।
“समृद्ध नेपाल बनाउन हामी गैरआवासीय नेपालीहरूले साथ दिन्छौं, तर हाम्रा मागहरू सम्बोधन गर्न राज्य तयार हुनुपर्छ,” अध्यक्ष केसीले भन्नुभयो, “आर्थिक, राजनीतिक र सामाजिक अधिकारका विषयमा उठाइएका मागहरू पुरा गर्न राज्यले सहयोग गर्नुपर्छ। यदि लगानीमैत्री वातावरण बनाइयो भने गैरआवासीय नेपालीहरूले स्वदेशमा लगानी गरेर रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिन सक्छन्।”
साथै, उहाँले गैरआवासीय नेपालीलाई छिटो र सहज रूपमा नागरिकता उपलब्ध गराउने प्रक्रिया सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गर्नुभयो।
कार्यक्रममा एनआरएनएकी उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपालीहरूले सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै, “एनआरएनएमा देखा परेका विविध चुनौतीहरूको समाधान भएमा त्यो योगदान अझै सशक्त बन्नेछ,” भन्नुभयो।
“हामीले उठाएका मागहरू अझै पनि छायाँमै छन्,” उपाध्यक्ष राईले थप भनिन्, “यी मागहरू कार्यान्वयनका लागि सरकारसँग आग्रह गर्दछु। आर्थिक विकासका साथै अन्य विषयमा ग्लोबल कन्क्लेभमा गहिरो छलफल हुनेछ।”
त्यसैगरी, उपाध्यक्ष टीबी कार्कीले संघभित्र पराजित समूहबाट भइरहेको अनावश्यक विरोधका कारण समस्या उत्पन्न भइरहेको टिप्पणी गर्नुभयो।


