काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिइएको माफीमिनाहाको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई दिएको माफीमिनाहा असंवैधानिक भएको दाबी गर्दै दायर गरिएको रिट निवेदन सर्वोच्चले खारेज गरेको हो।
न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले मंगलबार रिट खारेज गर्ने फैसला सुनाएको हो।
२०७२ सालमा भएको टीकापुर घटनामा सर्वोच्च अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो। त्यसपछि तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा चौधरीको बाँकी कैद मिनाहा गरी उनलाई रिहा गर्ने निर्णय गरेका थिए।
उक्त माफीमिनाहाको निर्णय गैरकानुनी तथा पीडितको न्याय पाउने अधिकारविपरीत भएको दाबी गर्दै टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै चौधरीलाई दिइएको माफीमिनाहासम्बन्धी राष्ट्रपतिको निर्णय कायमै रहने भएको छ।


