Friday, March 6, 2026
Homeअन्तराष्ट्रियरुसका राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा

रुसका राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा

पुटिनद्वारा विजय दिवसको अवसरमा तीन दिनका लागि युद्धविराम घोषणा

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको ८०औं वार्षिकोत्सवको अवसरमा मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविराम घोषणा गरेका छन्। क्रेमलिनले सोमबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।

क्रेमलिनका अनुसार, मे ७ को मध्यरातदेखि मे १० को मध्यरातसम्म सबै प्रकारका लडाइँ र आक्रमण स्थगित गरिनेछ। विज्ञप्तिमा राष्ट्रपति पुटिनलाई उद्धृत गर्दै भनिएको छ, “रुसी पक्षले युद्धविरामको पहल गरेको छ र युक्रेनी पक्षले पनि यो उदाहरण पछ्याउने अपेक्षा गरिएको छ। तर, यदि युद्धविराम अवधिमा युक्रेनी पक्षबाट उल्लंघन भएमा, रुसी सशस्त्र बलले आवश्यक र प्रभावकारी जवाफ दिनेछ।”

पुटिनले यसअघि इस्टर पर्वको अवसरमा पनि युद्धविरामको आदेश जारी गरेका थिए, तर दुवै पक्षले एकअर्कालाई बारम्बार उल्लंघन गरेको आरोप लगाएका थिए।

रुसी प्रस्तावको प्रतिक्रिया दिन्दै किएभ र युरोपेली समर्थकहरूले पुटिनमाथि युद्धविरामका घोषणालाई प्रचारको साधन बनाउने आरोप लगाएका छन्। साथै, गत महिना पुटिनले युक्रेनले स्वीकार गरेको अमेरिकी प्रस्तावित ३० दिन लामो पूर्ण र निःशर्त युद्धविराम अस्वीकार गरेका थिए।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण थालेयता रूसले युक्रेनका चार वटा क्षेत्र — डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिज्जिया — का ठूला भाग कब्जा गरेको छ। साथै, २०१४ मा कब्जा गरेको क्रिमिया प्रायद्वीपलाई समेत आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ।

रुसको आक्रमणपछि हजारौं मानिसको ज्यान गएको छ र लाखौं युक्रेनीहरू विस्थापित भएका छन्। पछिल्लो समय युद्धको मोर्चा पूर्वी र दक्षिणी युक्रेनका क्षेत्रमा केन्द्रित छ, जहाँ दुवै पक्षले आक्रामक गतिविधि जारी राखेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका