काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सभापतिपछिको दोस्रो महत्त्वपूर्ण मानिने महामन्त्री पदका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। केन्द्रीय सदस्यहरूको मतपरिणाम सार्वजनिक भएसँगै नेताहरूले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्न थालेका छन्।
हालसम्म ६ जना निर्वाचित केन्द्रीय सदस्यले सामाजिक सञ्जालमार्फत महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। यद्यपि, सबै केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम भने अझै सार्वजनिक हुन बाँकी छ।
महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नेहरूमा खुला केन्द्रीय सदस्यतर्फ तेस्रो स्थानमा निर्वाचित शिशिर खनाल, चौथो स्थानमा सागर ढकाल, छैटौँ स्थानमा रञ्जु दर्शना, सातौँ स्थानमा मनिष झा, दशौँ स्थानमा विपिन आचार्य र १९औँ स्थानमा प्रमोद न्यौपाने रहेका छन्।
बाँकी केन्द्रीय सदस्यहरूको मतपरिणाम सार्वजनिक भएपछि महामन्त्री पदको प्रतिस्पर्धा अझ रोचक बन्ने अपेक्षा गरिएको छ।


