Tuesday, June 23, 2026
Homeराजनीतिरास्वपाको नयाँ नेतृत्वका लागि भोलि मतदान, विद्युतीय प्रणालीबाट निर्वाचन हुने

रास्वपाको नयाँ नेतृत्वका लागि भोलि मतदान, विद्युतीय प्रणालीबाट निर्वाचन हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु हुने जनाएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो २ बजेदेखि सुरु भएको बन्दसत्र साँझ ६:४५ बजेसम्म सञ्चालन हुनेछ। बन्दसत्रबाट आवश्यक प्रस्तावहरू पारित भएपछि नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया अघि बढाइनेछ।

निर्वाचनलाई छिटो, व्यवस्थित र पारदर्शी बनाउन विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन) प्रयोग गरिने आयोगले जनाएको छ। महाधिवेशनस्थल चितवनमा मतदानका लागि ८० वटा विद्युतीय उपकरण तयारी अवस्थामा राखिएका छन्।

यसपटक महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नसकेका प्रवासमा रहेका प्रतिनिधिहरूलाई पनि मतदानको व्यवस्था गरिएको छ। उनीहरूले रास्वपाको आधिकारिक मोबाइल एपमार्फत विश्वको जुनसुकै स्थानबाट मतदान गर्न सक्नेछन्।

निर्वाचनमार्फत पार्टीको एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछ।

निर्वाचनलाई मर्यादित र निष्पक्ष बनाउन आयोगले विशेष व्यवस्था पनि लागू गरेको छ। आयोगका अनुसार कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको व्यक्ति आफैँ सोही वा अन्य कुनै पदमा उम्मेदवार बन्न नपाउने नियम लागू गरिएको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले यस निर्वाचनलाई पार्टीको भावी दिशा निर्धारण गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका