काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि नेता डा. धवलशम्शेर राणाले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक दल गठनको प्रक्रिया अघि बढाएका छन्।
राप्रपा छाडेर नयाँ राजनीतिक शक्ति निर्माणको तयारीमा रहेका राणाले अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पार्टीमा फर्कन र महाधिवेशनमा सहभागी हुन गरेको सार्वजनिक आह्वानलाई अस्वीकार गर्दै त्यसलाई ‘भ्रमपूर्ण अभिव्यक्ति’ को संज्ञा दिएका छन्।
बुधबार जारी गरेको विज्ञप्तिमार्फत राणाले राप्रपाको केन्द्रीय समिति वैधानिक रूपमा निष्क्रिय भइसकेको दाबी गर्दै पार्टीभित्रको संगठनात्मक संकट गहिरिएको बताएका छन्।
उनले राप्रपाले २०७८ मा सम्पन्न गरेको एकता महाधिवेशनपछि पार्टी विधानअनुसार चार वर्षे कार्यकाल पूरा गरिसकेको र थप गरिएको समयावधिसमेत सकिएकाले अहिलेको नेतृत्व संरचनाले वैधानिक आधार गुमाइसकेको जिकिर गरेका छन्।
राणाका अनुसार महाधिवेशन समयमै सम्पन्न गर्नका लागि एक वर्षअघि नै सुझाव समिति गठन गरिएको थियो र उक्त समितिले समयमै महाधिवेशन गर्न लिखित सुझाव दिएको भए पनि नेतृत्वले त्यसलाई बेवास्ता गरेको आरोप लगाए।
अध्यक्ष लिङ्देनले महाधिवेशनको तालिका निर्माणको जिम्मेवारी आफूलाई दिइएको तर आफू उत्तरदायित्वबाट पन्छिएको आरोप लगाएको विषयमा राणाले आपत्ति जनाउँदै नेतृत्वले आफ्ना सुझाव र वैधानिक निर्णयहरू कार्यान्वयन नगरेको बताएका छन्।
उनले नेतृत्वको कार्यशैली, आत्मकेन्द्रित प्रवृत्ति र निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै त्यसकै कारण पार्टीले राजनीतिक प्रभाव, वैचारिक आधार र जनविश्वास गुमाउँदै गएको दाबी गरेका छन्।
राणाले राप्रपालाई अहिले ‘मक्किएको र अलपत्र परेको घर’ जस्तो अवस्था पुगेको टिप्पणी गर्दै पुराना राष्ट्रवादी शक्ति र समूहलाई नयाँ वैकल्पिक अभियानमा एकताबद्ध हुन आह्वान गरेका छन्।
नयाँ राष्ट्रवादी शक्ति निर्माणका लागि देशव्यापी रूपमा नयाँ मोर्चा र राजनीतिक दल गठनको अभियान अघि बढाउने संकेत गर्दै राणाले आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको बताएका छन्।


