Friday, June 19, 2026
Homeराजनीतिराप्रपा केन्द्रीय समिति बैठक आजदेखि, ‘अनधिकृत’ सहभागितालाई लिएर विवाद

राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, ‘अनधिकृत’ सहभागितालाई लिएर विवाद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ। धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान साढे ११ बजेदेखि बैठक सुरु हुन लागेको हो। तर बैठक सुरु हुनुअघि नै पार्टीभित्र विवाद चर्किएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत ‘अनधिकृत’ व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको आरोप लगाउँदै पार्टीभित्रको एक समूहले बैठक बहिष्कार गर्ने तयारी गरेको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका सबै व्यक्तिहरूलाई बैठकमा सहभागी गराउने निर्णय तथा एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका ६५ जनालाई पनि सहभागी गराउने तयारी भएपछि विवाद उत्पन्न भएको हो। असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यबाहेक अन्य व्यक्तिलाई सहभागी गराउनु पार्टीको स्थापित विधि, पद्धति र सिद्धान्तविपरीत भएको जनाएको छ।

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, सदस्य अर्जुन राई तथा पूर्वअध्यक्षहरू कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले यस विषयमा अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका थिए। उनीहरूले केन्द्रीय सदस्यबाहेक अन्यलाई बैठकमा सहभागी गराउन नहुने अडान राखेका थिए।

केन्द्रीय सदस्य जनकराज पाठकले आफू लगायत विधि र प्रक्रियाको पक्षमा रहेका नेताहरू बैठकमा सहभागी नहुने बताएका छन्। उनले केन्द्रीय समितिको बैठकमा अनधिकृत व्यक्तिहरूलाई प्रवेश गराउने प्रयास भएकाले आफू सहभागी हुन नसक्ने जानकारी अध्यक्ष, महामन्त्री र सचिवालय प्रमुखलाई गराइसकेको बताए।

पार्टीभित्रका केही नेताहरूले अध्यक्ष लिङ्देनले आलोचनाबाट बच्न आफ्ना समर्थक र चुनावमा पराजित उम्मेदवारहरूलाई बैठकमा सहभागी गराएर आफ्नो पक्ष बलियो बनाउन खोजेको आरोप लगाएका छन्।

यसैबीच, बिहीबारको कार्यसम्पादन समितिको बैठकले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ। सोअनुसार राप्रपाको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गरिनेछ। बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिकासमेत परिमार्जनसहित अनुमोदन गरेको अध्यक्ष लिङ्देनले जानकारी दिएका छन्।

महामन्त्री धवलशमशेर राणाले पार्टी छाडेपछि उत्पन्न आन्तरिक असन्तुष्टिका बीच बस्न लागेको यो बैठकलाई राप्रपाभित्रको शक्ति सन्तुलन र नेतृत्वको परीक्षा रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका