काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघमाथि छिट्टै कर लगाउने चेतावनी दिएका छन्। उनले युरोपेली संघले अमेरिकाको आर्थिक फाइदा उठाएको आरोप लगाउँदै यो असमानता अब सह्य नहुने स्पष्ट पारे।
ट्रम्पले भने, “युरोपेली युनियनले हाम्रा कारहरू लिँदैन, कृषि उत्पादनहरू किन्दैन। उनीहरूले हामीबाट लगभग केही पनि लिँदैनन्, तर हामी भने उनीहरूबाट लाखौं कारहरूदेखि विशाल परिमाणमा खाद्यान्न तथा कृषि उत्पादन लिन्छौं। यो व्यापार असन्तुलन अब बन्द हुनुपर्छ।”
बीबीसीले युरोपेली संघमाथि कर लगाउने समयसीमाबारे सोध्दा ट्रम्पले भने, “म यो समयसीमा छ भनेर भन्न सक्दिन, तर यो चाँडै हुनेछ।”
उनले विश्वका धेरै देशहरूले अमेरिकालाई व्यापारिक हिसाबले धोका दिएको आरोप लगाए। “हामी लगभग हरेक देशसँग घाटामा छौं, र यो अवस्थालाई परिवर्तन गर्न आवश्यक छ। यो ठीक होइन,” उनले थपे।
विश्लेषकहरूका अनुसार ट्रम्पको यस चेतावनीले युरोप-अमेरिका व्यापार सम्बन्धमा थप तनाव सिर्जना गर्न सक्छ। यदि कर लगाउने निर्णय कार्यान्वयन भएमा विश्वव्यापी व्यापार प्रणालीमा यसको गहिरो प्रभाव पर्ने अनुमान गरिएको छ।