Friday, January 16, 2026
Homeअर्थ र ब्यापारयातायात कार्यालय पाल्पाः सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि

यातायात कार्यालय पाल्पाः सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि

तानसेन (पाल्पा): पाल्पास्थित यातायात व्यवस्था सेवा कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा १७ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

कार्यालयले नयाँ सवारी दर्ता, नवीकरण, सवारी चालक अनुमतिपत्र वितरणलगायत सेवाबाट साउनदेखि चैत मसान्तसम्म रु १७ करोड २३ लाख १५ हजार ४६५ राजस्व सङ्कलन गरेको जनाएको छ।

कार्यालय प्रमुख लक्ष्मण घिमिरेका अनुसार सो अवधिमा चालक अनुमतिपत्र र सवारी दर्ता किताबबाट रु दुई करोड १० लाख ३७ हजार ४०० तथा सवारी साधन करबाट रु १४ करोड ४८ लाख ६२ हजार ७४० सङ्कलन भएको छ।

प्रमुख घिमिरेले गत वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा वृद्धि भएको उल्लेख गर्दै भने, “चालक अनुमतिपत्र तथा सवारी साधनको सङ्ख्या वृद्धि हुनु र सेवाप्रवाहमा छिटोछरितो हुनु राजस्व बढ्नाका मुख्य कारण हुन्।”

गत आवको सोही अवधिमा कार्यालयले रु १४ करोड ७४ लाख राजस्व सङ्कलन गरेको थियो। अघिल्लो आवको अन्त्यसम्म कार्यालयले कुल रु १८ करोड ७४ लाख ९६ हजार ४२५ राजस्व उठाएको थियो। चालु आव सकिन अझै तीन महिना बाँकी रहेकाले यो वर्ष राजस्व सङ्कलन अघिल्लो वर्षको तुलनामा अझै बढ्ने निश्चित भएको छ।

गत पूरै आवमा चालक अनुमतिपत्र र सवारी दर्ता किताबबाट रु दुई करोड ४५ लाख २८ हजार मात्र सङ्कलन भएकोमा चालु आवको नौ महिनामै यो सङ्क्याको नजिक पुगेको कार्यालयले जनाएको छ। यस्तै, अघिल्लो वर्ष सवारी करबाट रु १५ करोड ४७ लाख ४३ हजार ७३५ सङ्कलन भएकोमा चालु आवको नौ महिनामै उक्त आँकडासँग दाँजिने गरी राजस्व उठेको छ।

यसैबीच, चालु आवको नौ महिनामा यातायात क्षेत्रको आम्दानी शीर्षकमा रु १८ लाख ४६ हजार ७०० र आयकर शीर्षकमा रु ४५ लाख ६८ हजार ६२५ राजस्व सङ्कलन भएको प्रमुख घिमिरेले बताए।

कार्यालयको सहायक कम्प्युटर अपरेटर सम्झना तिमिल्सिनाका अनुसार अघिल्लो आवको पूरै अवधिमा आयकरतर्फ रु ५६ लाख ५८ हजार ६६० सङ्कलन गरिएको थियो। चालु आवको नौ महिनाको तुलनामा अघिल्लो वर्ष सोही अवधिमा समग्रमा करिब चार करोड रुपैयाँ कम राजस्व सङ्कलन भएको उनले जानकारी दिइन्।

हाल कार्यालयले सवारी कर, सवारी नवीकरण दस्तुर, रुट परमिट र सवारी जाँचपास शीर्षकमा आयकर सङ्कलन गर्दै आएको छ। चालु आवको चैत मसान्तसम्ममा कार्यालयले चालक अनुमतिपत्रतर्फ दुई हजार ३२५ नयाँ लाइसेन्स, पाँच सय ३१ थप वर्ग, छ हजार ३४६ रिट्रायल, दुई हजार ९१ लाइसेन्स नवीकरण र दुई हजार ८३१ लिखित परीक्षाबाट राजस्व सङ्कलन गरेको छ।

सवारीतर्फ कार्यालयले २४ हजार ६८ वटा सवारी नवीकरण, तीन हजार ४० वटा पटके नवीकरण, नौ सय चार जाँचपास तथा नौ सय ६७ वटा रुट परमिट नवीकरण गरेको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका