काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ।
क्यानले देसाईको सम्झौता अवधि सकिएको र सम्झौता नवीकरण नगर्ने जानकारी दिँदै उनको प्रशिक्षण अवधिमा नेपाली क्रिकेट टिमले हासिल गरेको सफलताका लागि धन्यवाद ज्ञापन गरेको छ।
देसाईको नेतृत्वमा नेपाली क्रिकेटका ऐतिहासिक उपलब्धि
२०७९ माघमा नेपाली पुरुष क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भएका देसाईको नेतृत्वमा नेपालले लिग-२ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल भएको थियो।
त्यसैगरी, उनको प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेल्ने अवसर पायो भने १० वर्षपछि आईसीसी टी-२० विश्वकपमा समेत सहभागिता जनायो।
क्यानले देसाईको योगदानलाई उच्च कदर गर्दै भविष्यका लागि सफलताको शुभकामना दिएको छ।