काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनसम्बन्धी घटनामा राष्ट्रिय मानवअधिकार आयोगका सिफारिसहरू तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
पार्टीको साप्ताहिक कार्यक्रम ‘ग्रिन टेबल’ अन्तर्गत शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले मानवअधिकार उल्लंघनका घटनालाई सामान्य रूपमा लिन नहुने बताएका हुन्।
उनले आन्दोलनका क्रममा भएका घटनामा आफ्नै पार्टीका नेता–कार्यकर्तामाथि कारबाहीको अवस्था आए पनि नेपाली कांग्रेसले दोहोरो मापदण्ड नअपनाउने स्पष्ट पारे।
सभापति थापाले आयोगको सिफारिस कार्यान्वयनका लागि कांग्रेसले निरन्तर सरकारसँग प्रश्न उठाउने र दबाब सिर्जना गरिरहने बताए। आयोगको सिफारिस ढिलो वा चाँडो कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै उनले दमन र योजनाबद्ध हिंसालाई बेवास्ता गर्दा भविष्यमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए।
थापाले आयोगको प्रतिवेदन निर्वाचनअघि सार्वजनिक नभएको विषयमा समेत प्रश्न उठाउँदै प्रतिवेदन र त्यसको कार्यान्वयन प्रक्रियामा सरकारको पूर्वाग्रह देखिएको दाबी गरे।


