काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी (समिति) बैठकमा २० जना नेताहरुले बोलेसँगै केही दिनका लागि स्थगित भएको छ ।
सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । आइतबारदेखि जारी केन्द्रीय समितिको बैठकलाई केही दिन स्थगित गरेर नेताहरु पूर्वजिम्मेवारी अनुसार जिल्ला जिल्लामा जाने बताइएको छ ।
आइतबार प्रदेश इन्चार्ज र अध्यक्षहरूले धारणा राखेका थिए । सोमबारको बैठकमा जनार्दन शर्मा, वर्षमान पुन, दलजित श्रीपाइली, हितबहादुर तामाङ, रामचन्द्र झालगायतले धारणा राखेका छन् ।
पुनः बैठक सञ्चालनअघि नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ। साथै, पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताउनुभएको छ ।