तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ। आयोजनाका लागि नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा र पाँचवटा घर अधिग्रहण गरिएपछि मुआब्जा वितरण गरिएको हो।
केन्द्रका प्रमुख इञ्जिनियर पशुपति गौतमका अनुसार प्रभावित १४ परिवारका जग्गा र पाँचवटा घरका लागि रु २१ करोड ७८ लाख ८५ हजार ९६७ मुआब्जा वितरण गरिएको छ। यसमध्ये रु १७ करोड ८७ लाख ८६ हजार ६५२ जग्गा र रु ३ करोड ९० लाख ९९ हजार ३१५ घर तथा टहराका लागि छुट्याइएको थियो।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको निर्णयअनुसार, प्रतिरोपनी रु १ करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मूल्यांकन गरिएको हो।
आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटका बासिन्दा डुबानमा परेपछि मुआब्जाको माग गर्दै लामो समयदेखि आन्दोलनरत थिए। मुआब्जा पाएपछि उनीहरू खुसी भएका छन्।
केन्द्र प्रमुख गौतमले मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँध आसपास रहेका स्थानीयको स्थायी पुनर्स्थापनाका लागि आवश्यक मुआब्जा वितरण कार्य सम्पन्न भएको जानकारी दिनुभयो। ६९ मेगावाट क्षमता रहेको यस आयोजनाको बाँधले स्थानीय बस्तीमा डुबान र कटानको जोखिम उत्पन्न गरेपछि उक्त जग्गा अधिग्रहण गरिएको हो।
मानवीय क्षति हुन सक्ने सम्भावना देखिएपछि प्रभावित परिवारहरू सरकारले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गरिदिनुपर्ने माग गर्दै आएका थिए।
“ढिलो भए पनि मुआब्जा पाउँदा स्थानीय खुसी छन्,” भन्दै गाउँपालिका अध्यक्ष शुक्र चुमानले अब प्रभावित परिवारको सुरक्षा र पुनःस्थापनातर्फ थप पहल आवश्यक रहेको बताए।