वीरगञ्ज: मधेश प्रदेशकै सर्वाधिक धनराशिको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन १७ देखि २४ गतेसम्म वीरगञ्जको आदर्शनगर रंगशालामा हुने भएको छ। भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आठ फुटबल टोली सहभागी हुनेछन्।
प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ। भेट्रान सिटी क्लबका अध्यक्ष सबिन बस्नेतले मधेश प्रदेशमा फुटबलको विकासका लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पछिल्लो समय वीरगञ्जमा फुटबलका गतिविधि सुस्ताएपछि यो प्रतियोगिता पुनः खेलकुदको विकासमा टेवा पुर्याउन आयोजना गर्न लागिएको हो।”
प्रतियोगितामा संकटा फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपीआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिरहा र आयोजक वीरगञ्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेता टोलीलाई नगद ११ लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीलाई नगद पाँच लाख ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले जानकारी दिनुभयो।
प्रतियोगिता सञ्चालनका लागि आदर्शनगर रंगशालाको मैदान मर्मत कार्य अन्तिम चरणमा पुगेको श्रीवास्तवले जानकारी दिनुभयो। “दुई महिनादेखि मैदानको मर्मत कार्य तिव्र रुपमा भइरहेको छ,” उहाँले बताउनुभयो।
दर्शकलाई लक्षित गर्दै करिब दुई हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माणको कार्य तीव्र रुपमा भइरहेको छ। ग्राउन्डमा थप तीन हजार दर्शक अटाउने क्षमता रहेको आयोजकले जनाएको छ।
प्रतियोगिता संयोजक श्रीवास्तवले वीरगञ्जमा फुटबल गतिविधि फेरि जुर्मुराउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। “विगतमा सहिद तेजबहादुर अमात्य गोल्डकप र विशाल मेमोरियल गोल्डकपजस्ता प्रतियोगिता हुँदै आएका थिए। स्थानीय फुटबल खेलाडीको प्रतिभा प्रकट गर्न यो प्रतियोगिताले महत्वपूर्ण प्लेटफर्म दिनेछ,” उहाँले थप्नुभयो।
प्रथम वीरगञ्ज गोल्डकप २०८० को कात्तिकमा आयोजना गरिएको थियो। उक्त संस्करणमा नेपाल पुलिस क्लब विजेता र नेपाल आर्मी क्लब उपविजेता बनेका थिए।


