विराटनगर: कृषि विज्ञ मदन राई यौन दुर्व्यवहारमा दोषी ठहरिएका छन्। राईलाई जिल्ला अदालत खोटाङले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो। माघ १० गते बिहीबार जल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई दोषी ठहर गरेका हुन् ।
राईलाई उनी आफैंले खोलेको ‘सुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग थियो । ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूको आरोप थियो ।
राईलाई सजाय भने माघ २५ गते इजलासले निर्धारण गर्नेछ । २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
उनीविरूद्ध बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिम विभिन्न कसुर गरेको भन्दै सजायको मागदाबी गरेको थियो। मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग) (ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग भएको थियो । उनलाई ७५ हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरेको थियो ।