काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १९३, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। यी जिल्लामा मात्रै १ हजार ४०१ वटा शव फेला परेका छन्। थप दुई जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३५ शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९०४ गरी कुल ३ हजार १९० वटा डीएनए नमुना सङ्कलन गरिएको छ।
पहिचान हुन नसकेका १ हजार ३६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
यसैगरी, बाढीपछि बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य जारी रहेको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल २ हजार ८४ जना राखिएको प्रहरीले जनाएको छ।


