Tuesday, September 8, 2026
Homeसामाचारभोटेकोशी–त्रिशूलीका जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, सयौँ अझै सम्पर्कविहीन

भोटेकोशी–त्रिशूलीका जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, सयौँ अझै सम्पर्कविहीन

नुवाकोट । रसुवास्थित भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशूली नदीमा आधारित जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण ती आयोजनामा कार्यरत सयौँ कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन छन्। केही आयोजनाका सुरुङमा मानिस फसेको हुनसक्ने आशङ्कामा नेपाली सेना, आयोजनाका प्राविधिक तथा विदेशी विशेषज्ञ टोलीले खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

नेपाली सेना तथा आयोजनामा कार्यरत कर्मचारीसँग गरिएको कुराकानीका आधारमा विभिन्न आयोजनामा भइरहेको खोजी तथा उद्धारको अवस्था यस्तो छ।

रसुवागढी जलविद्युत् आयोजना

चीनसँगको सीमाबाट करिब ४ दशमलव ५ किलोमिटर दूरीमा रहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् गृह बाढीबाट सबैभन्दा पहिले प्रभावित भएको थियो। बाढीले हेडवक्र्सका सम्पूर्ण संरचना तथा पावर हाउस बाहिर र भूमिगत संरचनाभित्र रहेका अधिकांश सामग्रीमा क्षति पुर्‍याएको छ।

आयोजनाका अनुसार कर्मचारी, कामदारलगायत ९३ जना अझै सम्पर्कविहीन छन्। आयोजनाका वरिष्ठ जियोलोजिस्ट तथा टनेलविज्ञ विष्णु सिवाकोटीका अनुसार भदौ १० गतेदेखि नै उद्धारको प्रयास सुरु गरिएको थियो।

भदौ १२ गतेदेखि उद्धार कार्यलाई निरन्तरता दिइएको थियो भने नेपाली सेनाले पनि आयोजनाको निरीक्षण गरेको थियो। बाढीग्रस्त क्षेत्रमा हेलिकप्टर अवतरण गर्न कठिन भएपछि आवश्यक उपकरण मिनी एक्साभेटरलगायतका साधनमार्फत उद्धारको प्रयास गरिएको थियो।

आयोजनामा कम्पनीका ५२, भेनस कम्पनीका तीन, दैनिक ज्यालादारीका दुई, चिनियाँ कम्पनी सीडब्ल्यूईका एक चिनियाँसहित पाँच तथा शेर्पा हाइड्रोका ३१ जना कार्यरत थिए। हालसम्म दुई जनाको शव फेला परेको र चार जनाको सकुशल उद्धार गरिएको छ।

आयोजनाका अनुसार टनेलमा ठूलो क्षति पुगेको छैन भने पावर हाउसमा आंशिक क्षति भएको छ। ड्याम भने पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

नेपाली सेनाले भदौ १३ गतेदेखि उद्धार प्रयास तीव्र पारेको थियो। हेलिकप्टरमार्फत जेनेरेटरलगायत आवश्यक उपकरण पुर्‍याइएको थियो। भदौ १४ गते एक कर्मचारीको उद्धार भएपछि उनकै सहयोगमा टनेलभित्र खोजी गरिएको थियो। टोली करिब २७५ मिटरभित्रसम्म पुगे पनि थप व्यक्ति फेला नपरेको सेनाले जनाएको छ। टनेल तथा आसपासका क्षेत्रमा खोजी भने जारी छ।

लाङटाङ खोला जलविद्युत् आयोजना

२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि भदौ १० गतेदेखि उद्धार कार्य सुरु गरिएको थियो। पहिलो दिन नेपाली सेनाले आयोजनाको रेकी गरेको थियो भने भदौ १३ गतेदेखि प्रत्यक्ष रूपमा खोजी तथा उद्धार सुरु गरिएको थियो।

सुरुआती चरणमा नेपाली सेनाले भारतीय सेनासँगको सहकार्यमा काम गरेको थियो। टनेलभित्र करिब ६० मिटर प्रवेश गरेपछि ठूला चट्टान भेटिएका थिए।

खोजीलाई प्रभावकारी बनाउन भदौ १६ गते आयोजनाका तीन जना तथा नेपाली सेनाका २५ दक्ष जनशक्ति आवश्यक उपकरणसहित परिचालन गरिएको थियो। सहायक टनेलमा ग्यास वेल्डिङमार्फत प्वाल बनाएर खोजी गरिएको थियो।

आयोजनाबाट विद्युत् उत्पादन सुरु नभएकाले त्यहाँ सीमित कर्मचारी मात्र कार्यरत थिए। खोजीका क्रममा टनेलभित्र तीन जनाको शव फेला परेको थियो। थप खोजी गर्दा अन्य व्यक्ति नभेटिए पनि उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।

चिलिमे जलविद्युत् आयोजना

२२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा भदौ १० गतेदेखि नेपाली सेनाले उद्धार कार्य सुरु गरेको थियो। भदौ १३ गते भारतबाट विशेषज्ञ खोज तथा उद्धार टोली पुगेपछि संयुक्त रूपमा काम अघि बढाइएको थियो।

बाढीपछि आयोजनाभित्र ठूलो मात्रामा हिलो भरिएकाले उद्धार टोलीलाई भित्र प्रवेश गर्न कठिन भएको थियो। आयोजनाका बाहिरी संरचना अधिकांश बगेका छन्। हाल सर्भिस टनेल पत्ता लागे पनि त्यसको मुखसम्म बाढीले कटान गरेकाले ठूला हेलिकप्टर अवतरण गर्न कठिन भएको थियो।

सानो हेलिकप्टरबाट एकपटकमा बढीमा तीन जनासम्म झारेर तथा हुकको सहायताले मानिस र सामग्री तान्ने गरी उद्धार गरिएको थियो। स्याफ्रुबेँसीबाट एस्काभेटरमार्फत टनेलसम्म पुग्ने बाटो निर्माण भइरहेको छ।

नेपाली सेनाको निरन्तर प्रयासपछि हाल मुख्य टनेलको करिब १०० मिटरभित्र पुग्न सकिने अवस्था बनेको छ। नेपाली सेनाको समन्वयमा भारतीय सेनाका करिब ४० जनाको टोली पनि उद्धारमा संलग्न छ।

बाढी आएको समयमा आयोजनामा सुरक्षा गार्ड एक, कर्मचारी एक तथा इन्जिनियर र ओभरसियर चार गरी छ जना कार्यरत थिए। टनेलभित्रको ‘इमर्जेन्सी एसेम्बली’ क्षेत्र प्रवेशद्वारभन्दा करिब १० मिटर माथि रहेकाले त्यहाँ फसेका व्यक्ति जीवितै रहेको हुनसक्ने आशङ्का गरिएको छ। आयोजनाबाट दुई वटा शव फेला परिसकेको छ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ प्रभावित आयोजनामध्ये सबैभन्दा ठूलो हो। नेपाली, चिनियाँ, कोरियाली र भारतीय नागरिकसहित एक हजारभन्दा बढी जनशक्ति कार्यरत रहेको यस आयोजनामा ठूलो सङ्ख्यामा मानिस सम्पर्कविहीन छन्।

आयोजनाका रेसिडेन्ट हेड इन्जिनियर रवीन्द्र हमालका अनुसार बाढी आउँदा करिब ५०० जना टनेलका विभिन्न भागमा काम गरिरहेको हुनसक्ने अनुमान छ। तीमध्ये कति बाहिर निस्कन सफल भए र कति टनेलभित्र फसे भन्ने यकिन हुन सकेको छैन।

नेपाली सेनाले सुरुआती चरणमा आयोजनास्थलबाट २५४ जनाको उद्धार गरेको थियो। आयोजनाका अनुसार करिब ५०० जना अझै सम्पर्कविहीन छन्।

आयोजनामा विभिन्न चरणमा ग्राउटिङ, कङ्क्रिट लाइनिङ, ड्रिलिङ, इनभर्ट तथा फुल फेज लाइनिङ, भर्टिकल साफ्ट, ड्रेन, वाटर सेपेज कन्ट्रोल तथा पेनस्टकसम्बन्धी काम भइरहेको थियो। विभिन्न क्षेत्रमा दर्जनौँदेखि सयौँ कामदार परिचालित थिए।

हेडवक्र्सबाट बाढीको प्रभाव सुरु भएको अनुमान गरिएको छ। हेडवक्र्स टनेलबाट करिब दुई हजार ३०० मिटरपछि विभिन्न अडिट संरचना रहेका छन्। अहिले ती संरचनासहित टनेलभित्र सम्भावित व्यक्तिको खोजी भइरहेको छ।

नेपाली सेनाले चौबीसै घण्टा खोजी जारी राखेको जनाएको छ। केही क्षेत्रमा हिलो कम रहेकाले मानिसहरू माथिल्लो भागमा सुरक्षित बसेको हुनसक्ने अनुमान गरिएको छ।

टनेलबाट ११औँ दिनमा एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको थियो भने एक जनाको शव पनि फेला परेको थियो। भदौ २० गते थप दुई शव फेला परेका थिए। नेपाली सेनाको नेतृत्वमा कोरियाली र चिनियाँ विशेषज्ञ सम्मिलित टोलीले अझै खोजी जारी राखेको छ।

त्रिशूली–३ ‘ए’

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा सुरुमा ४२ जना सम्पर्कविहीन भएको जनाइएको थियो। खोजीका क्रममा १०औँ दिनमा दुई जनाको जीवितै उद्धार गरिएको थियो भने एक जनाको शव टनेलभित्र फेला परेको थियो।

आयोजनामा भदौ ११ गते बेलुकादेखि नै उद्धार सुरु गरिएको थियो। नेपाली सेनाले सुरुमा टनेलको प्रवेशद्वार पत्ता लगाउनै कठिन भएको जनाएको छ। नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी नक्सा लिएर भदौ १२ गते रेकी गरिएको थियो र भदौ १३ गतेदेखि खोजी कार्य अघि बढाइएको थियो।

स्थानीय एक्साभेटर इन्धन अभाव तथा प्राविधिक समस्याका कारण सञ्चालन गर्न नसकिएपछि हेलिकप्टरमार्फत थप तीन वटा एक्साभेटर पुर्‍याइएको थियो। हाल आयोजनास्थलमा छ वटा एक्साभेटरले काम गरिरहेका छन्।

माथिबाट करिब २५ मिटर खनेपछि टनेल फेला परेको थियो। त्यसपछि उद्धार टोली टनेलभित्र प्रवेश गरेको थियो। टनेलको मुख खोल्न विस्फोटक सामग्री तथा ड्रिलिङका लागि आवश्यक उपकरण अन्य आयोजनाबाट समेत ल्याइएको थियो।

उद्धार कार्यमा नेपाली सेनासँगै चिनियाँ र कोरियाली विशेषज्ञ टोली पनि संलग्न रहेको छ।

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना

त्रिशूली–३ ‘बी’ आयोजनाको टनेलबाहेक अधिकांश संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। आयोजनाले ४० भन्दा बढी कर्मचारी पुरिएको आशङ्का गरेको छ।

सुरुआती दिनमा दलदलका कारण हेभी उपकरण आयोजनास्थलसम्म पुर्‍याउन कठिन भएको थियो। भदौ ११ गते उद्धारका लागि पुगेको नेपाली सेनाको टोली पनि हिलोका कारण हेलिकप्टरबाट अवतरण गर्न सकेको थिएन।

पछि प्राविधिकको सहयोगमा भदौ १३ गतेदेखि उद्धार प्रयास सुरु गरिएको थियो। चिनियाँ टोलीले पनि सोही दिन आयोजनाको रेकी गरेको थियो।

आयोजनाका कर्मचारी किसन अधिकारीका अनुसार बाढी आउँदा अधिकांश मानिस कार्यालय तथा आवासीय भवनमा थिए। उनका परिवारका सदस्यसहित धेरै कर्मचारी अझै सम्पर्कविहीन छन्। उनका अनुसार बाढी आएको केही मिनेटमै अवस्था नियन्त्रणबाहिर गएको थियो र धेरै साथीहरू आँखैअगाडि बगेका थिए।

बाढीले आयोजनानजिकैको सुकुम्बासी बस्तीसमेत पूर्ण रूपमा बगाएको छ। पावर हाउस, कार्यालय तथा छ वटा आवासीय भवन पुरिएका छन्। प्रभावित क्षेत्रमा करिब ५० मिटर क्षेत्रफलमा १५ मिटरसम्म गहिरो खाल्डो बनेको जनाइएको छ।

हाल आयोजनाका प्रबन्ध निर्देशकसहित नेपाली सेनाका ८९ जना दक्ष जनशक्ति खोजी तथा उद्धारमा परिचालित छन्। जेनेरेटर, कम्प्रेसर तथा अन्य विपद् उपकरण प्रयोग गरी काम भइरहेको छ।

टनेलको प्रवेशद्वारबाट छातीसम्म आउने दलदल हटाउँदै विभिन्न उपकरणको सहायताले अडिट टनेलभित्र करिब १ दशमलव ७ किलोमिटरसम्म प्रवेश गरिएको छ। त्यस क्रममा एउटा गाडी फेला परेको छ।

त्रिशूली–३ ‘ए’ बाट ‘बी’ आयोजनातर्फ समेत एस्काभेटरलगायतका उपकरण लैजाने काम भइरहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका