Homeदेश र प्रदेशभोकको मुख्य चिन्ता छ, ‘अनलाइन क्लास’ केमा पढ्ने ?

भोकको मुख्य चिन्ता छ, ‘अनलाइन क्लास’ केमा पढ्ने ?

महामारीले देश–दुनियाँ आक्रान्त छ, बुधबार एकैदिन देशमा अहिलेसम्मकै उच्च ८६५९ जनामा कोरोना देखियो, ५८ जनाले ज्यान गुमाए । मंगलबार पशुपतिमा शव दहनको रिपोर्टिङ सकेर हामी न्युरोडतर्फ हान्नियौं, जहाँ सुनसान सडकमा नाम्लो बोकेर निराश अवस्थामा बसिरहेका एक व्यक्तिसँग भेट भयो ।

उनी आशावादी भएर पुलुक्क हामीतिर हेर्दै थिए, क्यामेरा झिकेपछि मुख खुम्चियो । हामीलाई काम दिने ग्राहक ठानेर उत्साहित भएका रहेछन् । ‘लकडाउन सुरु भएयता काम पाइएको छैन, कोही आउँछ कि भनेर ढुकेर बस्ने हो । प्रहरीले पनि कडाइ गरेको छ,’ पत्रकार हौँ भनेपछि उनले निराशा पोखे ।

‘तपाईंको नाम के हो ?’

उद्धव परियार ।

उमेर ?

५३ वर्ष ।

कति भयो भारी बोक्न थाल्नुभएको ?

‘१६ वर्षकै उमेरमा काठमाडौँ आएको,’ उनले भने ।

अवस्था सामान्य हुँदा उनले भारी बोकेर कहिले हजार, कहिले १२ सय त कहिले ४–५ सय कमाउँथे । तर, लकडाउनले हाँस्नु न रुनुको परिस्थिति सिर्जना गरेको उनले बताए । हामीले व्यक्तिगत कुरा खोतल्न थालेपछि उनले डेरा देखाउँछु भने । हामी पछि–पछि लाग्यौँ ।

सुन्धारा–न्युरोड क्षेत्रमा उनीजसरी भरिया कर्म गरेर जीवन निर्वाह गर्नेहरूको सङ्ख्या ठूलो छ । गणतान्त्रिक नेपालमा पार्टी, धर्म, जात, क्षेत्रका आधारमा विभिन्न सङ्घ–सङ्गठन र जनसम्पर्क समितिहरू खुलेका छन् । टोलैपिच्छे त्यस्ता धेरै सङ्घ–सङ्गठनका होर्डिङ बोर्ड टाँगिएका छन् । तर, भरियाको न कुनै सङ्गठन छ, न पार्टी र सरकारलाई उनीहरूबारे सरोकार छ । त्यसैले भरियाको यकिन सङ्ख्या कसैलाई थाहा छैन ।

सङ्कटा मन्दिर, टेबहाल पुगेपछि उद्धव रोकिए । सुनसान अवस्थाको यस बहालले भूपी शेरचनको कविता सम्झायोे–

साँघुरो गल्लीमा मेरो चेक छ

यहाँ के छैन ? सबथोक छ

असङ्ख्य रोग छ

केवल हर्ष छैन

यहाँ त्यसमाथि रोक छ ।

वडा सदस्य चन्द्रमान डङ्गोलका अनुसार काठमाडौँ महानगरपालिका–२२ अन्तर्गतको टेबहालमा पछिल्लो समय दुईजनाले ज्यान गुमाइसकेका छन् । यहाँ ठूलो सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएको अनुमान छ । बिरामीहरूको सङ्ख्या दैनिक बढ्दैछ । पसलहरू बन्द छन् । घरबाहिर निस्कन मानिसहरू डराइरहेका छन् ।

साँघुरो छिँडी छिचोलेर माथिल्लो तलामा पुगेपछि उद्धवको डेरा आइपुग्यो । एउटा कोठामा उनको चार सदस्यीय परिवार बस्ने रहेछ । त्यहाँ हामी पुग्दा उनका १० वर्षीय छोरा हातमा चाउचाउ बोकेर रमाइरहेका थिए । स्कुल बन्द भएयता ६ कक्षामा पढ्ने छोरी निराश छिन् ।

मास्क, सेनिटाइजर र सामाजिक दूरीको नियमबारे यी बालिकालाई राम्रोसँग थाहा छ, त्यसैले उनी केही आतङ्कित छिन् । केवल ४ वर्गमिटरको कोठामा चार सदस्यीय परिवारले यो सामाजिक दुरीको सिद्धान्त घोक्न सक्ला । तर, पालना गर्न सक्दैन । घरभित्रै थुनिएर चुल्हो बल्दैन । चामल र ग्यास सकिनै लागेको रहेछ ।

हामी पुग्दा उद्धवकी श्रीमती बाहिर निस्किएकी थिइन् । कसैको घरधन्दा सघाएर थोरै आम्दानी गर्न । उद्धवका अनुसार श्रीमतीमा जन्मजात अपाङ्गता छ । उनी कहिलेकाहीँ होटलमा काम गर्थिन्, अहिले ती सबै बन्द छन् ।

 ‘मेरो काम छैन । अहिले उसैले अरूको घरमा काम गरेर कमाएर ल्याउनुपरेको छ,’ उद्धवले निराशा पोखे, ‘यस्तै अवस्था रह्यो भने बाँच्नै मुस्किल पर्छ । अलिकति भएको बचत पनि अघिल्लो वर्षकै लकडाउनमा सकियो । धेरैजनालाई ऋण तिर्न बाँकी छ, पसलमा उधारो छ ।’

कोरोना भाइरसले उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग भनिरहेको छैन । देशका ठूला नेतादेखि व्यापारी, कलाकार र आम सर्वसाधारणसम्म सङ्क्रमित छन् । तर, कोरोना भाइरसका कारण सिर्जित लकडाउनको सबैभन्दा ठूलो मार आर्थिक रूपमा विपन्न वर्गलाई नै परेको छ ।

न्युरोड–सुन्धारा क्षेत्रमा फुटपाथ पसल गर्ने, रिक्सा चलाउने, होटल–रेस्टुराँमा सरसफाइको काम गर्नेलगायत धेरै पेसाकर्मी चपेटामा छन् । केही वर्ष मलेसिया बसे पनि आम्दानी राम्रो नभएपछि नेपाल फर्किएर भरियाकर्ममा लागेका उद्धवका कान्छा भाइ पनि अहिले बेरोजगारजस्तै छन् । उनले श्रीमती र छोराछोरीलाई घर पठाएका छन्, आफू केही काम पाइहालिन्छ कि भन्ने आशामा काठमाडौँमै बसिरहेका छन् ।

आर्थिक रूपमा विपन्नहरूलाई परेको समस्याका विषयमा छलफल भइरहेको  काठमाडौँ महानगरपालिका– २२ का वडासदस्य चन्द्रमान तुलाधरले बताए ।

‘तपाईंले अघि भेट्नुभएका व्यक्ति (उद्धव परियार) मैले लिजमा लिएको घरमा डेरा लिएर बस्दै हुनुहुन्छ । लकडाउन बढ्दै जाँदा समस्यामा परेका यस्ता व्यक्तिहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर हामी छलफलमै छौँ,’ तुलाधरले भने, ‘यसअघिको लकडाउनमा पनि मैले आर्थिकरूपमा विपन्नहरूलाई भाडामा सहुलियत दिएको थिएँ । तर। त्यो पनि तिर्न उनीहरूलाई मुस्किल प¥यो । कतिले अझै तिरेका छैनन्, लकडाउन खुलेपछि नियमित भाडा बुझाइरहेकाहरूले पनि अब बुझाउन सक्छन् भन्ने मलाई लाग्दैन ।’

सङ्कटा क्लबका उपाध्यक्षसमेत रहेका तुलाधरले क्लबका तर्फबाट राहत वितरण गर्ने विषयमा पनि कुराकानी चलिरहेको बताए । ‘पहिले पनि हामीले समस्यामा परेकाहरूलाई सहयोग गरेका थियौँ, यसपटक पनि केही सहयोग त अवश्य नै गर्छौं,’ तुलाधरले भने, ‘तर यतिले मात्रै पर्याप्त हुँदैन । लकडाउन सुरु भएको बल्ल साता दिन बित्दैछ, भर्खरै समस्या सुरु भएको छ । यो समस्या बढ्दै जाँदा अझै भयावह अवस्था निम्तिन सक्छ ।’

रातोपाटीबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका