Thursday, June 18, 2026
Homeअर्थ र ब्यापारभुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै विष्ट

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै विष्ट

धरान (सुनसरी): बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट अवकाश प्राप्त गरेपछि वैदेशिक रोजगारीमा जाने योजना बनाउनुभएको थियो। तर, विदेशमा गर्ने संघर्ष स्वदेशमै गर्न सके उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सोचले उहाँले कृषि क्षेत्रमा कदम राख्नुभयो।

आज उहाँलाई आफूले गरेको निर्णय सही भएको महसुस भइरहेको छ। प्रहरी सेवाबाट निवृत्त भएपछि भुइँकटहर खेतीतर्फ सक्रिय हुनुभएका विष्टले अहिले यसैबाट राम्रो आम्दानी गरिरहनुभएको छ। उहाँले एक विघा जमिनमा भुइँकटहर लगाउनुभएको छ, जसबाट वार्षिक करिब रु १५ लाखको आम्दानी हुने बताउनुभयो।

उहाँका अनुसार, भुइँकटहर खेतीबाट वार्षिक रु एक लाखको खर्च कटाएर करिब रु १४ लाखसम्म बचाउन सकिन्छ। उहाँले भन्नुभयो, “भुइँकटहरको माग बजारमा राम्रो छ र मूल्य पनि मनासिब पाउने गरिन्छ। गत वर्षभन्दा केही विरुवा थप गरेको छु, जसले गर्दा आगामी वर्षमा आम्दानी अझ बढ्नेछ।”

उहाँले बताउनुभयो कि भुइँकटहर खेतीमा वर्षेनी धेरै मेहनत गर्नुपर्दैन। वर्षमा एकपटक मात्रै गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ। विष्टले भुइँकटहर प्रतिगोटा रु एक सयदेखि एकसय पचाससम्ममा बिक्री गर्दै आउनुभएको छ, र कतिपय व्यापारीहरू त फर्ममै आइपुगेर भुइँकटहर खरिद गर्छन्।

हाल बराहक्षेत्रमा भुइँकटहर खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीको समस्या नभएको उहाँको भनाइ छ। साथै, विरुवा बिक्रीबाट मात्र वार्षिक करिब रु एक लाख ५० हजारसम्म आम्दानी हुने बताउनुभयो। उहाँले एउटा विरुवा रु १० देखि २० सम्ममा बिक्री गर्दै आउनुभएको छ, र नगरपालिकाले व्यावसायिक भुइँकटहर खेतीको लागि अनुदानस्वरुप रु ७७ हजार पनि प्रदान गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका