काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन्। भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत गएका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं आइपुगेका हुन्।
स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भारत भ्रमण विगतका राजनीतिक भ्रमणभन्दा फरक, पारदर्शी र परिणाममुखी रहेको दाबी गरे। उनले नेपाली राजनीतिक नेतृत्वको वैदेशिक भ्रमण प्रायः बन्द कोठाभित्र सीमित हुने परम्परालाई तोड्दै आफूहरूले खुला र जिम्मेवार कूटनीतिक अभ्यास अपनाएको बताए।
लामिछानेका अनुसार भारत तथा अमेरिकी प्रतिनिधिहरूसँग भएका सबै भेटवार्तामा नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई सहभागी गराइएको थियो। यसले नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगबाट अघि बढाउन आधार तयार गरेको उनको भनाइ छ।
भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक सीमाभन्दा बाहिर निकालेर आर्थिक तथा विकास साझेदारीको दृष्टिकोणबाट छलफल गरिएको उनले बताए। कनेक्टिभिटी, धार्मिक पर्यटन, वैदेशिक लगानी तथा द्विपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण संवाद भएको उल्लेख गर्दै उनले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सम्बन्ध विस्तार गर्न खोजिएको बताए।
लामिछानेले आफ्नो लेख भारतको प्रतिष्ठित दैनिक हिन्दुस्तान टाइम्स मा प्रकाशित भएको उल्लेख गर्दै त्यसमार्फत नेपालको आर्थिक एजेन्डा र क्षेत्रीय सहकार्यको अवधारणालाई भारतीय राजनीतिक तथा बौद्धिक वृत्तमा प्रस्तुत गरिएको बताए।
सीमा विवादलगायत संवेदनशील विषयमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले यस्ता विषय सार्वजनिक बहस वा नाराबाजीबाट नभई संस्थागत र चरणबद्ध कूटनीतिक प्रक्रियाबाट समाधान गर्नुपर्ने धारणा राखे।
उनले यस भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ संवादको सुरुवात गरेको र आगामी दिनमा लगानी तथा आर्थिक सहकार्यका थप अवसर खुल्ने विश्वास व्यक्त गरे।


