Saturday, May 2, 2026
Homeमनोरन्जनभारतीय गायक सोनु निगम नेपाल आउँदै

भारतीय गायक सोनु निगम नेपाल आउँदै

काठमाडौँ: भारतका प्रसिद्ध गायक सोनु निगम नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताउनुभएको छ। यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि पठाइएको भिडियो सन्देशमा उहाँले नेपालीसँग पहिलोपटक प्रत्यक्ष भेट हुने उल्लेख गर्नुभएको छ।

उहाँले भन्नुभएको छ, “मैले धेरै नेपाली गीत गाए पनि नेपालमा अहिलेसम्म कन्सर्ट गरेको छैन। नेपालीसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर आएकोमा म निकै उत्साहित छु। उक्त दिन म नेपाली र भारतीय गीतमार्फत दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राख्नेछैन।”

आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक सोनु निगम नेपाली र भारतीय गीतसङ्गीत प्रस्तुत गर्न सक्ने बहुप्रतिभाशाली गायक भएकाले नेपालमा कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभएको छ।

“उहाँले धेरै नेपाली गीत गाउनुभएको छ, तर नेपालमा कन्सर्ट कहिल्यै गर्नुभएको छैन। त्यसैले उहाँलाई नेपाली दर्शकमाझ ल्याउन लागेका हौँ। उहाँ आफ्नो साङ्गीतिक समूहसँग प्रस्तुति दिनुहुनेछ। उहाँ नेपाल आउने विषयमा निकै उत्साहित हुनुहुन्छ,” निर्देशक घिमिरेले बताउनुभएको छ। साथै, लाइट र साउण्ड मिलाएर स्टेज तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

बाह्र हजार दर्शक क्षमता रहेको ह्यात चौरमा हालसम्म छ हजार टिकट बिक्री भइसकेको छ। “हामीले कार्यक्रमलाई सभ्य र भव्य बनाउन सम्पूर्ण तयारी गरेका छौँ। अस्ट्रेलिया र हङकङपछि नेपालमा पनि यस किसिमका कार्यक्रम आयोजना गर्ने हाम्रो लक्ष्य हो। आगामी दिनमा स्वदेशी तथा विदेशी कलाकारलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने योजना छ,” घिमिरेले बताउनुभयो।

गायक निगमले स्वर दिएका ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली गीतहरू निकै लोकप्रिय छन्। त्यस्तै, हिन्दी गीत ‘मेरे ढोलना सुन’, ‘कल हो ना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ पनि दर्शकमाझ अत्यन्त प्रिय छन्।

कार्यक्रमका लागि न्यूनतम रु दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकट मूल्य निर्धारण गरिएको छ। गायक सोनु निगम पुस १० गते बिहान नेपाल आइपुग्ने आयोजकले जानकारी दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका