उदयपुर — तिर्खा लाग्दा पिउने पानी छैन । हिँड्दै जाँदा थकाइ लागे सुस्ताउने चौतारी छैनन् । पुस्तौं पहिले बाजे बराजुले लगाएका बरपीपल मासिए । पानीको स्रोत सुकिरहेका छन् ।
‘अन्न उत्पादन घट्दै गएकाले वर्षभरि खान पुग्दैन,’ कटारी नगरपालिका–९ बतासेका ७९ वर्षीय पृथ्वीमान राईले भने, ‘अन्न नहुँदा भोकै र पानीको स्रोत सुक्दा तिर्खै मेट्न नपाउने अवस्था आएको छ ।’
सडक आवश्यकता भए पनि माटोको भौगोलिक बनावट, वैज्ञानिक र भौतिक असरलाई ख्याल नगरी बनाइँदा समस्या आएको भौगोलिक अवस्थाको अध्ययन गरिरहेका विद्यार्थी विभीषण पाठकले बताए । भने, ‘तर यहाँ त पानीको मुहान र सिँचाइ गर्ने कुलो मासेर सडक खनिएको छ ।’ बस्तीमा सडक पुर्याउन खनिएका सडक, त्यही बस्तीलाई जोखिममा पारेर खनिएको उनले बताए ।
प्राविधिक प्रस्तावबिनै सडक खनिएका कारण बस्ती पहिरोको जोखिममा परेका छन् । सडकका कारण गाउँ नै जोखिममा परेपछि त्यसको रोकथामका लागि सडक लागतभन्दा १० गुणा बढी क्षति बेहोर्नुपरिरहेको स्थानीय बताउँछन् ।
‘बजारमा खरिद गरिएको खाद्यान्न ल्याउन भने सजिलो भएको छ,’ ताप्ली गाउँपालिका–४ की अनिसा मगरले भनिन्, ‘गाउँगाउँमा सडक पुगेको फाइदा भने भारीमा बोकेर अन्न ल्याउन पर्दैन ।’
चौदण्डीगढी नगरपालिका–१ पाल्पालीका ६९ वर्षीय हर्कमान सार्कीले भने, ‘सडक विस्तारसँगै चौतारा मासिए ।’ वर्षभरि खाने धान फल्ने खेतमा पानी लाग्ने कुलो सडक खन्दा मासिएको उनले बताए ।
सर्वसाधारणको माग भएको भन्दै स्थानीय तहले निर्वाचन भएको पहिलो वर्ष झन्डै कुल बजेटको ५० प्रतिशत बजेट सडकका लागि विनियोजना गरेका थिए । उनीहरूले अहिले पनि त्यही परम्परालाई निरन्तरता दिइरहेका छन् । हचुवाका भरमा एक्स्काभेटर चालकले जथाभावी सडक खन्दा गाउँ कुरूप बनेका छन् ।
कान्तिपुरबाट साभार