काठमाडौं:राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। बन्दी प्रत्यक्षीकरण (हाबियस कोर्पस) मुद्दामा सुनुवाइका लागि उनलाई अदालतमा हाजिर गराएर पुनः हिरासतमा फर्काइएको हो।
उनकी पत्नी सरिका कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि बुधबार सर्वोच्च अदालतले २४ घण्टाभित्र मिश्रलाई शारीरिकरूपमा अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका मिश्रलाई सोही आदेशअनुसार बिहीबार अदालतमा उपस्थित गराइएको हो। उक्त निवेदनमाथि शुक्रबार सुनुवाइ हुने भएको छ।


