कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदीको बगरमा तरबूजा खेती गर्दै जीविकोपार्जन गर्दै आउनुभएको छ। विगत १५ वर्षदेखि बगरमा तरबूजा खेती गर्दै आउनुभएका चौधरीले अहिले पनि यही व्यवसायबाट परिवारको खर्च धान्दै आउनुभएको छ।
उहाँले माघमा रोपेको तरबूजा चैतको अन्तिम साता बिक्रीका लागि तयार हुने जानकारी दिनुभयो। “पहिले साइकल र गोरुगाडामा राखेर गाउँगाउँ डुलाएर गहुँसँग साट्नुपर्थ्यो,” उहाँले सम्झनुभयो, “अहिले अटोमा राखेर महेन्द्रनगर, झलारी, अत्तरियालगायतका बजारमा लगेर सिधै नगदमा बिक्री गर्छौँ।”
बगरमा तरबूजा खेतीमा वडा नं ३ का जोनापुर र पिपलाडीका मात्रै होइन, वडा नं ४ असैनाका बासिन्दाहरू पनि संलग्न छन्। उनीहरूले बगरलाई समान भागमा बाँडेर तरबूजा, लौका, काँक्रा, फर्सीलगायतका लहरे बाली लगाउने गरेका छन्।
स्थानीय बुधराम चौधरीका अनुसार, एक परिवारले चार कठ्ठादेखि पाँच कठ्ठासम्मको भाग पाउँछन्। यस्तै खेतीबाट प्रत्येक परिवारले एक सिजनमा रु एक लाखदेखि रु एक लाख २० हजारसम्म आम्दानी गर्दै आएका छन्।
माघको पहिलो सातादेखि बगरमा तरबूजा, लौका, काँक्रा रोपिन्छ। स्थानीय लालु चौधरीले बताउनुभयो, “फागुनदेखि काँक्रा र लौका बेच्न सुरु गर्छौँ, तर तरबूजा बेच्न भने चैतको अन्तिमसम्म पर्खिनुपर्छ।”
यद्यपि, बगरमा उत्पादित तरकारी र फलफूल जोगाउन किसानलाई ठूलो सास्ती सहनुपर्छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको स्याली नदी बगरमा खेती गरिएकाले जङ्गली जनावरले बेला–बेलामा बाली नष्ट गर्ने गरेको लालु चौधरीले बताउनुभयो।
किसानहरूले माघदेखि नै झुपडी बनाएर बगरमा बस्न थालेका छन्। “सिँचाइ, मल राख्न, गोडमेल गर्न र छेकबार निर्माण गर्न दिनभरि व्यस्त हुन्छौँ, राति भने जङ्गली जनावरबाट विरुवा र फलहरू जोगाउन रखवारी गर्नुपर्छ,” अर्का किसान छल्ली चौधरीले बताउनुभयो।
तर, अझै पनि किसानहरूलाई बीउ खरिदका लागि भारतीय बजारकै भर पर्नु परेको छ। उनीहरू अनुदानमा बीउ, रासायनिक मल, कीटनाशक र सिँचाइ उपकरण उपलब्ध गराउन सरकारसँग माग गरिरहेका छन्। स्थानीयहरूका अनुसार भारतीय नागरिकले बगरमा खेती गरेको देखेर आफूहरूले पनि खेती सुरु गरेका हुन्।
बगर खेतीबाट प्राप्त आम्दानीले वर्षभरि घरायसी खर्चसँगै बालबालिकाको विद्यालय खर्च समेत धानिँदै आएको छ। “१५ वर्षदेखि आफ्नै बलबुतामा खेती गर्दै आएका छौँ, कतैबाट सहयोग पाएका छैनौँ,” स्थानीय हिंगलाल चौधरीले बताउनुभयो।
स्याली, सनवोरा र दोदा नदीको बगर क्षेत्रमा हाल दुई सयभन्दा बढी किसानले खेती गर्दै आएका छन्।


