काठमाडौं । बंगलादेशमा विद्यार्थी आन्दोलनपछि बनेको अन्तरिम सरकारको १६ महिनापछि आज (मंगलबार) जननिर्वाचित सरकार गठन हुने भएको छ। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान प्रधानमन्त्री नियुक्त हुने भएका छन्।
नोबेल पुरस्कार विजेता मोहम्मद युनुस को नेतृत्वमा रहेको अन्तरिम सरकारले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न लागेको हो। युनुसले सोमबार राति दिएको विदाई सम्बोधनमार्फत पद त्याग गर्ने घोषणा गरेका थिए।
गत १२ फेब्रुअरीमा सम्पन्न आमनिर्वाचनमा बीएनपी नेतृत्वको गठबन्धनले २१२ सिट जित्दै दुईतिहाइ बहुमत प्राप्त गरेको थियो। त्यसैगरी जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेको छ।
बीएनपीले तारिक रहमान प्रधानमन्त्रीका रूपमा शपथ लिने जानकारी दिएको छ। बीबीसी का अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह अपराह्न ४ बजेका लागि तय गरिएको छ।
यससँगै बंगलादेशमा नव निर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम पनि आयोजना हुने भएको छ। मुख्य निर्वाचन आयुक्तले मंगलबार बिहान १० बजे संसद् भवनको साउथ प्लाजामा नव निर्वाचित सांसदहरूलाई शपथ गराउने कार्यक्रम तय गरिएको जनाइएको छ।


