काठमाडौं: सरकारले ल्याएको अध्यादेश पारित गर्ने विषयमा सत्तारूढ दलहरूको शीर्ष नेताहरूबीच सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकले अन्य दलहरूसँग छलफल गरी फागुन ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट अध्यादेश पारित गर्ने निर्णय गरेको छ।
बैठकपछि गृहमन्त्री रमेश लेखकले भने, ‘सदनमा दर्ता भएका अध्यादेशहरूबारे सकारात्मक छलफल भएको छ। सबै पक्ष सहमत भएकाले अब यसलाई अघि बढाइनेछ।’ उनका अनुसार राष्ट्रियसभाको आगामी बैठकमा अध्यादेश पारित गरिनेछ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत नेताहरू सहभागी थिए।
बैठकमा सरकार र संसद्को प्रभावकारिता, विचाराधीन अध्यादेशहरू तथा समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल भएको थियो।
यसअघि, शुक्रबार एमाले र कांग्रेसका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सत्तारूढ दलहरूको संयुक्त बैठक बोलाउने निर्णय गरेको थियो।