Friday, February 7, 2025
Homeराजनीतिप्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे

प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे

मोरङ: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारले माग गरेका कानुनहरू चाँडै बन्ने आश्वासन दिनुभएको छ। विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै, उहाँले प्रदेश सरकारको मागलाई प्राथमिकता दिइ छिट्टै कानुन निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो। यसका लागि आफूले सरकारसँग नियमित समन्वय गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो।

सभामुख घिमिरेले संसद् सञ्चालनमा नभएको बेला सरकारले अध्यादेश ल्याउने प्रचलन रहेको बताउँदै, हालै ल्याएका अध्यादेश संसद्मा पेस भइसकेका र त्यसमा छलफल गरी निष्कर्षमा पुगिने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “अध्यादेश संसद् नभएको समयमा ल्याइन्छ र यसपटक पनि संसद् नचल्दा ल्याएका अध्यादेश संसद्मा पेस भइसकेका छन्। अब संसद् सञ्चालन भएपछि यसमा कि फिर्ता, कि छलफल हुनेछ।”

सभामुख घिमिरेले विधेयकहरू लामो समयसम्म पारित नहुँदा आलोचना हुने भएपनि त्यसको समाधानको प्रयास भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार, संसद् समितिमा हाल १४ वटा विधेयक छलफलमा रहेका छन्।

आजै, प्रगतिशील लेखक सङ्घ नेपाल र भुँडीपुराण प्रकाशन काठमाडौँद्वारा आयोजित कार्यक्रममा, उहाँले मुलुकमा निरङ्कुशतालाई अन्त्य गर्दै लोकतन्त्रको स्थापनामा यहाँका जनता, दलका नेता र कार्यकर्ताको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो।

स्रष्टा जीवन घिमिरेद्वारा लिखित ‘कमरेड हिजो र आज’ पुस्तकको लोकार्पण गर्दै, सभामुख घिमिरेले सङ्घीय लोकतन्त्र स्थापनामा प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र अन्य राजनीतिक दलहरूको योगदान उल्लेखनीय रहेको विचार व्यक्त गर्नुभयो।

सभामुख घिमिरेले समाजका कुरीतिहरू र जातीय विभेदलाई अन्त्य गर्न प्रगतिशील लेखक सङ्घले प्रमुख भूमिका निभाउनु पर्ने सुझाव पनि दिनुभयो।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सबैको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। पुस्तकका लेखक एवं एमाले मोरङ इन्चार्ज घिमिरेले प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा झापा, मोरङ र सुनसरीका चार सय पात्रहरूको योगदान पुस्तकमा समावेश गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा चन्द्र भण्डारी, निर्मला कोइराला, प्राडा रमेशप्रसाद भट्टराई र विमला दाहाल घिमिरेले पुस्तकको समीक्षा गर्नुभएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका