Monday, June 1, 2026
Homeराजनीतिपूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन समितिको प्रतिवेदन आज सरकारलाई बुझाइँदै

पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन समितिको प्रतिवेदन आज सरकारलाई बुझाइँदै

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई राय–सुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ।

समितिका सदस्य अच्युतमणि नेउपानेका अनुसार गुरुङसँग बयान लिने, सम्पत्ति विवरण अध्ययन गर्ने लगायत कार्य सम्पन्न भइसकेकाले प्रतिवेदन बुझाउने प्रक्रिया अन्तिम चरणमा पुगेको हो।

‘समितिलाई दिइएको कार्यादेशअनुसारको छानबिन प्रक्रिया पूरा भइसकेको छ, त्यसैले आजै प्रतिवेदन सरकारलाई बुझाउँछौँ,’ नेउपानेले बताएका छन्।

उनका अनुसार प्रतिवेदनमा प्रमाणका आधारमा निष्कर्षसहित राय प्रस्तुत गरिएको छ, जसमा दोषी वा निर्दोषबारे स्पष्ट धारणा समेटिएको जनाइएको छ।

मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य छन्।

समितिलाई प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वगृहमन्त्री गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।

व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। त्यसपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी २६ दिनमात्र उक्त पदमा रहेका थिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद प्रकरणपछि गुरुङमाथि थप प्रश्न उठेका थिए।

रकमको स्रोतबारे उठेका प्रश्नमा गुरुङले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका