काठमाडौं: पाकिस्तानले नियन्त्रण रेखा (LoC) मा आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको भारतीय जासूसी ड्रोन खसालेको दाबी गरेको छ।
सरकारी रेडियोले पाकिस्तानी सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार भारतले भाम्भरको मनावर सेक्टरमा ड्रोन प्रयोग गरी जासूसी गर्ने प्रयास गरेको थियो।
भारत सरकारबाट भने हालसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
गत अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गएको थियो। त्यसपश्चात भारतले पाकिस्तानविरुद्ध कडा प्रतिक्रिया स्वरूप सिन्धु जल सन्धि निलम्बन, अटारी सीमा बन्द, र भिसा सुविधा फिर्ता जस्ता कदमहरू चालेको थियो।
जवाफमा, पाकिस्तानले पनि शिमला सम्झौतालगायत दुई देशबीचका सबै द्विपक्षीय सम्झौता निलम्बन गर्ने घोषणा गर्दै हवाई र स्थल सीमा बन्द, व्यापार स्थगन, तथा भारतलाई आफ्नो हवाई क्षेत्र प्रयोगमा प्रतिबन्ध लगाएको छ।
भारतजस्तै पाकिस्तानले पनि भारतीय रक्षा सल्लाहकार र उनीसँगै रहेका कर्मचारीहरूलाई देश छाड्न निर्देशन दिएको छ भने भारतीय कूटनीतिक कर्मचारीहरूको संख्या समेत घटाएको छ।
यसैबीच, पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्ले भारतद्वारा सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णयलाई अस्वीकार गरेको छ। परिषद्ले सन्धिअनुसार पाकिस्तानलाई तोकिएको पानीको प्रवाह रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई “युद्धको कार्य” मानिने र त्यसको जवाफ “पूर्ण शक्तिका साथ” दिइने चेतावनी दिएको छ।