पर्वत: फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले यस वर्ष काँक्रोको बीउ बिक्रीबाट रु ६ करोड ३० लाख आम्दानी गरेका छन्। विगत २५ वर्षदेखि व्यावसायिक रूपमा बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले ६३ क्विन्टल काँक्रोको बीउ उत्पादन गरेका हुन्।
स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा विसं २०५७ मा गठन भएको नारायणस्थान बीउ उत्पादन समूहले व्यावसायिक बीउ उत्पादन सुरु गरेको थियो। कृषक बाबुराम भुसालका अनुसार प्रतिकिलो रु १० हजारका दरले बीउ बिक्री गरिएको हो।
गत वर्ष ७० क्विन्टल बीउ उत्पादन भएकोमा यो वर्ष उत्पादन घटेर ६३ क्विन्टल मात्र भएको छ। गत वर्ष रु ७ करोड आम्दानी भएको थियो। भक्तपुरे लोकल जातको काँक्रोको बीउ यहाँका कृषकले उत्पादन गर्दै आएका छन्।
शुरुवातमा चार किलो काँक्राको बीउ र ६५ किलो मूलाको बीउ उत्पादन भएको भुसालले बताउनुभयो। “पहिले रु ८ सयमा बिक्री हुने बीउ अहिले रु १० हजार प्रति किलोका दरले बिक्री हुन्छ,” उहाँले भन्नुभयो।
अहिले यहाँका ७२ परिवार व्यावसायिक काँक्रो खेतीमा संलग्न छन्। अर्का कृषक टुकप्रसाद पौडेलले यस वर्ष एक क्विन्टल बीउ बिक्री गरी रु १२ लाख आम्दानी गरेको जानकारी दिनुभयो। “काँक्राको बीउ नगदेँ बाली हो। गाउँबाटै बिक्री गर्न पाइने भएकाले यसको उत्पादन फाइदाजनक बनेको छ,” पौडेलले खुसी व्यक्त गर्नुभयो।
पौडेलका अनुसार कृषकले फागुनको पहिलो साता रोपेको काँक्रा जेठमा तयार हुन्छ। असारसम्म बीउ बिक्री गरिन्छ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख पर्शुराम अधिकारीले फलेवास नगरपालिका–११ पाङ्राङ र जलजला गाउँपालिका–७ धाइरिङमा व्यावसायिक काँक्रो बीउ उत्पादन भइरहेको बताउनुभयो। “उत्पादित बीउ कृषि अनुसन्धान केन्द्र र नार्कमार्फत सिफारिस गरिन्छ। व्यावसायिक कृषकलाई केन्द्रबाट अनुदान र प्राविधिक सहयोग प्रदान गरिन्छ,” उहाँले भन्नुभयो।
धाइरिङका कृषकले यो वर्ष मात्र बीउ बिक्रीबाट रु ४ करोड आम्दानी गरेका छन्।