Monday, January 20, 2025
Homeदेश र प्रदेशदुर्गाप्रसादको उपचार सुरु

दुर्गाप्रसादको उपचार सुरु

विराटनगर : भारतीय जेलमा ४० वर्ष बिताएर फर्किएका दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ। इलामको माई नगरपालिका–१० का ६० वर्षीय उनलाई प्रदेश १ सरकारको पहलमा उपचार गर्न थालिएको हो।

आइतबार तिम्सिनालाई मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ। यसअघि नै प्रदेश सरकारले उनको उपचार निःशुल्क गर्ने घोषणा गरिसकेको थियो। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको समन्वयमा उनलाई उपचारका लागि दिउँसो २ बजे अस्पतालको मेडिसिन वार्डमा भर्ना गरिएको मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालले जानकारी दिए।

तिम्सिनाको स्वास्थ्य अवस्था बुझ्न खनाल आफैं अस्पताल पुगेका थिए। बिहान ६ बजेतिर घरबाट निस्किएका उनलाई गाडीमार्फत अस्पताल ल्याउने व्यवस्था जिल्ला प्रशासन कार्यालय इलामले मिलाएको थियो। खनालका अनुसार मन्त्री कार्कीको आग्रहमा अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले तिम्सिनाको उपचार निःशुल्क गर्ने घोषणा गरेका छन्।

उनको उपचारमा वरिष्ठ फिजिसियन डा. पुरु कोइराला, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. शिखा उपाध्याय, दन्त रोग विशेषज्ञ डा. मोना पोखरेललगायतका चिकित्सकको टोली अस्पतालले खटाएको छ।  डा. कोेइरालाका अनुसार तिम्सिनालाई मानसिकसहित ढाड, पेट र दाँतको पनि समस्या देखिएको छ। ‘धेरै वर्ष अर्काको भूमिमा जेलमा बस्दा यातना दिइएको हुन सक्छ। प्रारम्भिक उपचार र परीक्षणबाट लामो समयदेखि मानसिक र शारीरिक तनाव बेहोर्नु परेजस्तो देखिन्छ,’ कोइरालाले भने, ‘विशेष गरेर मानसिक समस्या निक्कै जटिल बनेर गएको अनुमान छ।’

पूरै शरीरको परीक्षण थालिएकाले सबै रिपोर्ट आइसकेपछि मात्रै थप समस्याका बारेमा जानकारी हुने उनले बताए। यातनाका कारण बिरामीमा ‘डिप्रेसन’को समस्या भएको हुन सक्ने कोइरालाको भनाइ छ। त्यही भएकाले मनोचिकित्सकसँग पनि परामर्श गर्दै थप उपचार थालिएको जानकारी उनले जानकारी दिए। तिम्सिनाको रक्तचाप र मुटुको चाल भने सामान्य रहेको बताइएको छ।

कोइरालाका अनुसार सानो स्वरमा मात्रै बोल्ने तिम्सिना बालबालिकाको जस्तो स्वभाव र व्यवहार देखाउँछन्। उपचारपछि भोलिका दिनमा सजिलो होस् भनेर विभिन्न उपाय लगाउँदै उनलाई सहज बनाउने प्रयास भइरहेको कोइरालाले जानकारी दिए। ४० वर्षपछि भारतीय जेलबाट छुटेका दुर्गाप्रसाद चैत ८ गते नेपाल आइपुगेका हुन्।

उनलाई चैत १२ गते जिल्ला प्रशासन कार्यालय इलामले २०१७ साल साउन २० गतेको जन्म मिति राखेर वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिएको छ। नागरिकतामा सनाखत गरेका कान्छो भाइका छोरा गोपाल तिम्सिनाले नै उनलाई उपचारका लागि अस्पताल लिएर आएका हुन्। दुर्गाप्रसादका बुवा चम्पाखरको मृत्यु भइसकेको छ। बुढ्यौलीले कमजोर आमा धनमाया हिँड्डुल गर्न सक्दिनन्।

अन्नपूर्णबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका