दार्जीलिङ — भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण उत्तरी भारतको दार्जीलिङ क्षेत्रमा कम्तीमा २० जनाको मृत्यु भएको छ। यस क्षेत्रका सांसद हर्षवर्धन शृङ्गलाले आइतबार जानकारी दिएका हुन्।
पूर्वी भारतको पश्चिम बङ्गाल राज्यअन्तर्गतको पहाडी जिल्ला दार्जीलिङमा रातभर परेको भीषण वर्षाले ३०० मिलिमिटर (१२ इन्च) भन्दा बढी वर्षा रेकर्ड भएको जनाइएको छ। लगातारको वर्षापछि नदीहरूमा आएको भेलले गाउँ, पुल, र सडकसहितका पूर्वाधारहरूमा व्यापक क्षति पुर्याएको छ।
‘गत रात दार्जीलिङ पहाडमा आएको भीषण आँधी–वर्षाका कारण २० जनाभन्दा बढीले ज्यान गुमाएका छन्,’ सांसद शृङ्गलाले बताएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, “ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु। दार्जीलिङ र आसपासका क्षेत्रमा वर्षा र पहिरोपछि उत्पन्न अवस्थालाई सरकार निरन्तर निगरानी गरिरहेको छ।”
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले पनि विज्ञप्ति जारी गर्दै भनिन्, “हिजो राति केही घण्टाभित्र परेको अप्रत्याशित भारी वर्षा र नदीमा आएको तीव्र भेलका कारण धेरै क्षेत्रहरू बाढी र पहिरोबाट प्रभावित भएका छन्।”
उनका अनुसार दुईवटा फलामका पुलहरू भत्किएका छन्, धेरै सडकहरू क्षतिग्रस्त भएका छन्, र ठूला क्षेत्रहरू पानीमा डुबानमा परेका छन्।
दक्षिण एसियामा मनसुनको समयमा बाढी र पहिरो सामान्य हुने गरे पनि वातावरणविद्हरूका अनुसार जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण पछिल्ला वर्षहरूमा यस्ता प्राकृतिक विपद् झन् बारम्बार र घातक बन्दै गएका छन्।


