बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्दै गएको छ। पछिल्लो एक वर्षमा ३७ हजारभन्दा बढी पर्यटक ढोरपाटन पुगेका छन्। तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेको ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ।
आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार एक वर्षको अवधिमा ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा करिब १३ हजारले बढेको छ। पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार तथा होटल र घरबास (होमस्टे)को विस्तारसँगै पर्यटकको आगमन बर्सेनि बढ्दै गएको उनले बताए।
आर्थिक वर्ष २०८२/८३ मा ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या ३७ हजार ५२० पुगेको छ। तीमध्ये ३७ हजार २७० नेपाली पर्यटक रहेका छन्। यसअघि आव २०८१/८२ मा २३ हजार ६९२ र आव २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेका थिए।
पर्यटकको सङ्ख्या बढेसँगै प्रवेश शुल्कबाट प्राप्त हुने राजस्वसमेत बढेको छ। आव २०८२/८३ मा पर्यटक प्रवेश शुल्कबाट ४७ लाख ६८ हजार ४०५ रुपैयाँ राजस्व सङ्कलन भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो राजस्व ३१ लाख २१ हजार ५०० रुपैयाँ थियो।
सुवेदीका अनुसार ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विस्तार, बुकीपाटन, बुकीफूल र जलजलाको बढ्दो चर्चा तथा पदयात्राप्रति पर्यटकको आकर्षणले आगमन बढाएको हो। पर्यटक सूचना प्रणालीको विकास र पर्यटन पदमार्गको रुट निर्धारणले पनि ढोरपाटनको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उनले बताए।
हाल आरक्षले नेपाली पर्यटकका लागि १०० रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि १ हजार ५०० रुपैयाँ र अन्य विदेशी पर्यटकका लागि ३ हजार रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ।
यसैगरी, आरक्षले ढुङ्गा, गिट्टी र बालुवाबाट आव २०८२/८३ मा १ करोड १ लाख २७ हजार ९५३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ लाख ४१ हजार रुपैयाँ बढी हो।
रेञ्जर सुवेदीका अनुसार पछिल्लो समय विदेशी पर्यटक सिकार खेल्न मात्र नभई ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकीपाटन र जलजला क्षेत्रको अवलोकनका लागि पनि आउने गरेका छन्।
समुद्री सतहबाट २ हजार ९०० मिटर उचाइमा रहेको ढोरपाटन उपत्यकादेखि ४ हजार मिटरभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन्। पर्यटकका लागि शुल्क तिरेर पालसहित बस्न सक्ने व्यवस्था समेत मिलाइएको आरक्ष कार्यालयले जनाएको छ।
“ढोरपाटनको आकर्षण अहिले बाहिर आउन थालेको छ। प्रचारप्रसार, थपिँदै गएको पर्यटकीय पूर्वाधार, बुकीपाटन र जलजलाको चर्चा तथा होटल र होमस्टेको व्यवस्थापनले पर्यटकको आगमन बढेको हो,” सुवेदीले बताए।


