काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको विस्तार, टेलिमेडिसिनको प्रभावकारी कार्यान्वयन तथा राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली निर्माणका विषयमा छलफल भएको छ।
बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्का, स्मार्ट हेल्थ ग्लोबलका मनोज खड्का, सुशील लेखकलगायतको टोलीले मन्त्री मेहतासँग भेट गरी ‘द लास्ट माइलः डिजिटल स्वास्थ्य सम्मेलन–२०८३’ बाट प्राप्त निष्कर्ष तथा सुझाव प्रस्तुत गरेको हो।
भेटका क्रममा टोलीले स्थानीय तहमा डिजिटल स्वास्थ्य सेवाबाट प्राप्त अनुभव, टेलिमेडिसिन सेवाको विस्तार, स्वास्थ्य सूचना प्रणालीको एकीकरण, आवश्यक कानुनी तथा नीतिगत सुधार, वित्तीय दिगोपन र संघ, प्रदेश तथा स्थानीय तहबीच प्रभावकारी समन्वयमार्फत राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याएको थियो।
मन्त्री मेहताले डिजिटल स्वास्थ्यलाई नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा रहेको उल्लेख गर्दै सम्मेलनबाट प्राप्त सुझावहरूको अध्ययन गरी आवश्यक नीतिगत र संस्थागत पहल अघि बढाइने बताइन्।
उनले सुरक्षित, अन्तरसञ्चालनीय, समतामूलक र दिगो डिजिटल स्वास्थ्य प्रणाली निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।


