सिरहा: सिरहाको ठाडी भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन नहुँदा राजस्व संकलनमा ठूलो असर परेको छ। सिरहा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामशंकर यादवले भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन स्थापनाका लागि प्रयास जारी रहेको भन्दै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
आइतबार ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा ठाडी भन्सार कार्यालयले आयोजना गरेको कार्यक्रममा सांसद यादवले प्लान्ट क्वारेन्टिनको अभावले व्यापारमा अवरोध र राजस्व संकलनमा कमी आएको बताए। सिरहाका तीनवटै भन्सार कार्यालयमा यो समस्या रहेको उनको भनाइ छ।
मधेश प्रदेशसभा सदस्य राजकुमार गुप्ताले नेपाल-भारतबीच सहज व्यापारका लागि उपयुक्त नीति र कानुनको आवश्यकता रहेको बताए। प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जिल्लामा क्वारेन्टिन सुविधा नहुँदा समस्याको समाधान गर्न ढिलाइ भएको उल्लेख गरे।
ठाडी भन्सार कार्यालयका प्रमुख मुकेशकुमार पाठकका अनुसार खाद्य तथा प्लान्ट क्वारेन्टिनको अभावमा खाद्य सामग्रीको जाँच पास रोकिँदा राजस्व संकलन प्रभावित भएको छ। चालु आर्थिक वर्षमा रु. ४ करोड २३ लाख ४२ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्ममा मात्र ८४ प्रतिशत लक्ष्य हासिल भएको छ।
प्लान्ट क्वारेन्टिनको अभावका कारण व्यवसायीहरू विराटनगर र जलेश्वर भन्सारमार्फत मालसामान निर्यात गर्न बाध्य भएका छन्।


