Monday, April 27, 2026
Homeअन्तराष्ट्रियट्राफिक शुल्कजस्ता अति सामान्य गल्तीमा पनि विदेशी विद्यार्थीको भिसा रद्द गर्दै अमेरिका

ट्राफिक शुल्कजस्ता अति सामान्य गल्तीमा पनि विदेशी विद्यार्थीको भिसा रद्द गर्दै अमेरिका

काठमाडौं: अमेरिकी आप्रवासन कानून व्यवसायी संघ (एआईएलए) को नयाँ प्रतिवेदनले अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिने घटनामा आएको वृद्धि प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। एआईएलएले अप्रिल १७ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म ३२७ वटा यस्ता घटनाहरू रिपोर्ट भएका छन्, जसमा विद्यार्थीहरूको भिसा रद्द गरिएको थियो वा सेभिस (विद्यार्थी तथा विनिमय आगन्तुक सूचना प्रणाली) रेकर्डहरू बन्द गरिएको थियो।

यी तथ्याङ्कहरू प्रभावित विद्यार्थी, आप्रवासन वकिल तथा विश्वविद्यालयका कर्मचारीहरूले दिएको जानकारीमा आधारित छन्। रिपोर्ट भएका ३२७ घटनामध्ये झण्डै आधा भारतीय नागरिकहरू छन् भने १४ प्रतिशत घटनामा चिनियाँ विद्यार्थीहरू प्रभावित भएका छन्। त्यसबाहेक, दक्षिण कोरिया, नेपाल र बंगलादेशका विद्यार्थीहरू समेत यसबाट प्रभावित भएका छन्।

प्रतिवेदनअनुसार, भिसा रद्द गरिएका विद्यार्थीहरूमध्ये अधिकांश वैकल्पिक व्यावहारिक प्रशिक्षण (ओपीटी) मा रहेका थिए। सेभिस रेकर्ड बन्द भएपछि ती विद्यार्थीहरू काम गर्न अयोग्य हुने अवस्था आएको छ। यद्यपि पढाइमा सक्रिय विद्यार्थीहरूलाई केही सहजता भए पनि स्नातक सकिएका विद्यार्थीहरूलाई आफ्नो कानुनी स्थिति पुनःस्थापना गर्न गाह्रो भइरहेको देखिएको छ।

रिपोर्टमा उल्लेख गरिएका केही भिसा रद्दको कारणहरू सामान्य र अचम्मलाग्दा छन्। जस्तै, पार्किङ जरिवाना वा तीव्र गतिमा सवारी सञ्चालन गरेबापतको सानो मुद्दाका कारण प्रहरीले रेकर्ड बनाउँदा पनि विद्यार्थीको भिसा रद्द गरिएको थियो। तीमध्ये अधिकांश घटनामा कुनै अभियोग लगाइएको थिएन वा मुद्दा खारेज गरिइसकिएको थियो। केवल दुई घटनामा राजनीतिक गतिविधिसँग सम्बन्ध रहेको उल्लेख गरिएको छ।

एआईएलएको भनाइमा, सेभिस रेकर्ड हटाउने र भिसा रद्द गर्ने प्रक्रियामा एकरूपता नभएको र यसमा अनियमितता देखिएको छ। यसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई बिना चेतावनी कानुनी तथा शैक्षिक संकटमा पार्ने चिन्ताजनक अवस्था सिर्जना गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका