काठमाडौं। युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले अमेरिकाले हालै लगाएको कर नीतिलाई विश्व अर्थतन्त्रको लागि ठूलो धक्काको रूपमा वर्णन गर्दै यसको गम्भीर परिणामहरूमा चेतावनी दिएकी छन्।
उनले भनिन्, “यो स्पष्ट छ कि यसका गम्भीर परिणाम हुनेछ। विश्वव्यापी अर्थतन्त्रले ठूलो क्षति बेहोर्नेछ, अनिश्चितता बढ्नेछ र लाखौं मानिसहरूले यसको असर महसुस गर्नेछन्।”
भोन डेर लेयनले थपे, “शुल्कको प्रभाव तुरुन्तै देखिनेछ र यो विशेष गरी कमजोर वर्गहरूलाई प्रतिकूल असर पुर्याउनेछ।”
वक्तव्यको अन्त्यमा, उनले युरोपको एकता र एकजुटतामा जोड दिइन्। उनले भनिन्, “हामी सबै (युरोप) यसमा एकसाथ उभिएका छौं। यदि तपाईंले हामीमध्ये एकलाई निशाना बनाउनुभयो भने, तपाईं हामी सबैलाई चुनौती दिइरहनुभएको छ। हाम्रो एकता हाम्रो शक्ति हो।”
यस बयानसँगै, भोन डेर लेयनले अमेरिकासँगको व्यापारिक तनावको बीचमा युरोपको सामूहिक संघर्ष र एकताको महत्त्वलाई रेखांकित गरिन्। युरोपेली संघका अन्य सदस्य राष्ट्रहरूले पनि यस्तो करको बिरोध गर्दै युरोपको एकतामा बल दिनुपर्ने आवश्यकता औंल्याएका छन्।


