महोत्तरी, १४ चैत । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका- ५ का ६६ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी झाको अपहरणपछि हत्यामा संलग्न भएको आशंकामा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार पिपरा गाउँपालिका–५ सहोर्वाका झा दम्पतीको हत्यामा संलग्न भएको आशंकामा स्थानीय विकास झा, कैलाश झा र शम्भु झालाई प्रदेश प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो।
गत १० फागुनको राती आफ्नै घरमा सुतिरहेका झा दम्पती ओछ्यानबाटै हराएका थिए । घटना घटेको एक महिनापछि उनीहरुको शव बिहीबार माटो पुरेको अवस्थामा फेला परेको थियो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार हाल उनीहरुमाथि सोधपुछ तथा अनुसन्धन भइरहेको छ । पक्राउ परिएका तीनै जना झा दम्पतीका नातेदार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरुको घरबाट झा दम्पतीका जलेका कपडा बरामद भएको तथा शव केही दिनदेखि घरमै बाकसमा लुकाएर राखेर पछि गाडिएको आशंका गरेको छ ।
यसअघि घटनामा संलग्न रहेको भन्दै रामबाबु यादव, उनका छोराद्वय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत बिहार मधुबनी घर भइ बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
रातोपाटीबाट साभार