मुम्बई । बलिउड निर्देशक प्रियदर्शन ले चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादव लाई सहयोग गर्ने घोषणा गरेका छन्। उनले आफ्नो आगामी फिल्मका लागि राजपालको पारिश्रमिक सामान्यभन्दा बढी निर्धारण गर्न निर्माताहरूलाई राजी गराएका छन्।
प्रियदर्शनका अनुसार आर्थिक संकटमा परेका राजपाललाई बचाउन र सहयोग गर्न यस्तो कदम चालिएको हो। मिड-डे सँगको अन्तर्वार्तामा उनले राजपाललाई २० वर्षदेखि चिनेको र उनी असल व्यक्ति भएको बताएका छन्। उनले राजपालको अवस्थाप्रति सहानुभूति प्रकट गर्दै जुबली फिल्म्सका निर्माताहरूलाई राजपाललाई सामान्यभन्दा बढी पारिश्रमिक दिन आग्रह गरेको र उनीहरू सहमत भएको जानकारी दिएका छन्। आगामी फिल्ममा राजपाल पहिलो पटक भिलेनको भूमिकामा देखिने जनाइएको छ।
प्रियदर्शनले राजपाल आर्थिक ज्ञानको अभावका कारण समस्यामा परेको दाबी गरेका छन्। चेक बाउन्स मुद्दामा दोषी ठहरिएपछि राजपालले फेब्रुअरी ५ मा तिहाड जेलमा आत्मसमर्पण गरेका थिए।
सन् २०१० मा बनेको अता पता लापता फिल्म निर्माणका लागि उनले पाँच करोड रुपैयाँ ऋण लिएका थिए। समयमा रकम तिर्न नसक्दा मुद्दा परेको थियो। उनका वकिलका अनुसार हालसम्म तीन करोडभन्दा बढी रकम चुक्ता गरिसकिएको छ। तर पटक–पटक मौका दिँदा पनि सम्झौता पालना नगरेको भन्दै अदालतले उनलाई कडा फटकार लगाएको थियो।
जेल जानुअघि राजपालले आफूसँग पैसा नभएको बताएका थिए। त्यसपछि अभिनेता सोनू सूद ले फिल्म क्षेत्रका कलाकारहरूलाई सहयोग गर्न अपिल गरेका थिए। सो अपिलपछि सलमान खान, अजय देवगन र डेभिड धवन लगायतले आर्थिक सहयोग गरेको खबर सार्वजनिक भएको छ। राजपालको जमानत याचिकामाथि फेब्रुअरी १६ मा अदालतमा पुनः सुनुवाइ हुँदैछ।


